स्वीस लिकले कालोधन सार्वजनिक गरेपछि नेपालमा हंगामा


काठमाडौं / खोज पत्रकारहरुको एक अन्तरराष्ट्रिय संस्थाले संसारभरिबाट स्वीस बैंकमा कालो धन जम्मा पार्नेहरुको विवरण सार्वजनिक गरेको छ । ‘स्वीस लिक’ प्रोजेक्टका नाममा सार्वजनिक गरिएको सो विवरणमा नेपालबाट स्वीट्जरल्याण्डको एचएसबीसी बैंकमा ५ करोड ४० लाख अमेरिकी डलर फेला परेको दाबी गरिएको छ ।

भारतीय सञ्चार माध्यमले स्वीस बैंकमा कालोधन थुपार्ने सय जना उद्योगी व्यवसायीको नामावली सार्वजनिक गरेका छन् । भारतबाट मुकेस अम्बानी र अनिल अम्बानीसहित १६ सय ८८ जनाको स्वीसमा खाता रहेको बताइएको छ । तर, नेपालबाट कालो धन थुपार्ने ८ जना कोको हुन भन्ने अहिलेसम्म खुलेको छैन ।

खोज पत्रकारहरुको संस्था आइएसीआइजेका अनुसार नेपालबाट स्वीसबैंकमा रहेको ५ करोड ४० लाख डलरमध्ये एउटै खातामा ४ करोड डलर भेटिएको छ । बाँकी १ करोड ४० लाख डलर विभिन्न सातवटा खातामा भेटिएको बताइएको छ ।

रिपोर्टमा बताइएअनुसार आफ्नो देशमा कर छल्नेहरुले त्यष्सरी स्वीस बैंकमा रकम जम्मा गरेका हुन् । सबैभन्दा पहिले यो रिपोर्ट पेरिसको ‘ले मोन्डे’ले सार्वजनिक गरेको थियो । खोजी पत्रकारितासम्बन्धी अमेरिकी संस्थाले खुलासा गरेको यो रिपोर्टमा २ सय ३ देशका १ लाख ६ हजार खातावाल व्यक्तिको नाम समावेश छ ।

स्वीट्जरल्याण्डको प्राइभेट बैंकमा रहेका व्यक्तिगत खातासम्बन्धी गोप्य सूचना चुहिएपछि विश्वका विभिन्न मुलुकमा सनसनी फैलिएको छ । यो अनसन्धानमा ४५ देशका १ सय ४० पत्रकारहरु सहभागी थिए । पत्रकारहरुको यो टीममा लण्डनस्थित बीबीसीका पत्रकारको टीम पनि सहभागी थियो । भारतको इण्डियन एक्प्रेसका पत्रकारको टीम पनि यसमा सामेल थियो ।

दुईवर्ष पहिले फ्रान्सेली अखबारमा ६ सय २८ जना भारतीय खातावालको नाम सार्वजनिक भएपछि दिल्लीमा कालोधनको मुद्दा संसदसम्म पुगेको थियो । मोदीले लोकसभा चुनावका बेला कालोधन विदेशबाट फिर्ता ल्याइने बताएका थिए ।

विशेष गरी नेपालबाट ०४६ को परिवर्तनपछि स्वीस बैंकमा कालोधन लुकाउन थालिएको चर्चा छ । तर, पञ्चायतकालमा तत्कालीन रानी ऐश्वर्यले पम्फा ठकुरानीका नाममा स्वीट्जरल्याण्डमा रकम राखेको चर्चा चलेको थियो । संसारका कुनै पनि देशबाट रकम जम्मा गर्न स्वीटजरल्याण्ड सुरक्षित मानिँदै आएको छ ।