मूल्यबृद्धिको विरोधमा कास्कीका महिलाहरु सडकमा


पोखरा/

पेट्रोलियम पदार्थको मूल्य घटे पनि दैनिक उपभोग्य बस्तुको मूल्य नघटेको भन्दै त्यसको बिरोधमा कास्कीका महिलाहरु सडकमा उत्रिएका छन् । कास्कीको लेखनाथ नगरपालिका वडा नंं १२, पावरस्थित पृथ्वीराजमार्गमा महिलाहरु नाराबाजी गर्दै शुक्रबार आधाघण्टा चक्काजाम गरेका छन् ।

उनीहरुले खाना पकाउने ग्याँसको सहज आपूर्तिको माग गर्दै दैनिक उपभोग्य बस्तुको पनि मूल्य घट्नुपर्नेमा जोड दिए ।
उनीहरुले स्थानीय प्रशासन समक्ष आपूर्ति सहजको माग गर्दै पाँच दिने अल्टिमेटमसमेत दिएका छन् । बिरोध सभामा १० वटा आमा समूह, १५ वटा टोल विकास संस्थाका प्रतिनिधिहरुको उपस्थित थियो ।

प्रगतिशील महिला समूहको आह्वानमा भएको विरोधसभामा समूहका अध्यक्ष इन्दिरा तिवारी, पार्वती आचार्य, विष्णु सुवेदी, बद्रीका सापकोटा, अनिता गुरुङलगायतले ग्याँसको कृत्रिम अभाव तत्काल हटाउनुपर्नेमा जोड दिँदै दैनिक उपभोग्य बस्तुको मूल्य पेट्रोलियम पदार्थको मूल्य घटेअनुपातमा घट्नुपर्ने बताए ।