एनआरएनए अमेरिकाको अध्यक्षमा नगेन्द्र पौडेलको उमेद्वारी घोषणा


– विजय थापा
डिसी / आगामी २०१५ मा हुने गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको निर्वाचनको लागि नगेन्द्र पौडेलले अध्यक्ष पदको प्रत्यासी भएको घोषणा गरेका छन् ।अमेरिकाको डिसी महानगर क्षेत्रको म्यारिल्याण्ड क्षेत्रमा दुई दशकभन्दा बढी समय बिताइसकेका उनी बिभिन्न संघ तथा संस्थाको नेतृत्वसमेत लिएका छन् ।

आप्रवासी नेपाली संगठन अमेरिकालाई परदेसिएका नेपालीहरुको आत्मिय संगठन बनाउने योजनाका साथ एनआरएन अमेरिकाको आगामी अप्रिल-मे महिनामा हुने निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारीको घोषणा गरेको बताएका छन् ।
अनन्तकालिन राजनीतिक संक्रमणबाट गुज्रिरहेको मातृभूमी नेपालभित्र बन्ने संविधान भित्र आप्रवासीले नैसर्गिक रुपमा पाउनु पर्ने सामाजिक, आर्थिक र राजनीतिक अधिकार प्रत्याभुतिका लागि यसको विश्वब्यापी संस्था एनआरएन आइसीसीसँग समीपमा रही काम गर्ने उनले दृढता ब्यक्त गरेका छन् ।

पेसाले बैज्ञानिक तथा ईन्जिनियर अमेरिकामा नेपाली भाषा तथा संस्कृतिको जगेर्ना गर्नुपर्ने टड्कारो आवश्यकता महसुश गरी सन् २००० मा केही प्रगतिशील युवा तथा प्रौढहरुको सहयोग लिई रेडियो दोभानको स्थापना गरेका थिए ।

अमेरिकाको मिचिगनस्थित फेरिस स्टेट विश्व-बिद्यालयबाट ईन्जिनीयरिङ्ग बिषयमा स्नातक तथा युनिभर्सिटी अफ मेरिल्यान्ड कलेज पार्कको प्रतिष्ठित जेम्स स्कुल अफ ईन्जिनियरिङबाट ईन्जिनीयरिङ्गमै स्नातकोत्तरको उपाधी हासिल गरेका उनले सन १९९७ देखि सन् २००८ सम्म अमेरिकी अन्तरिक्ष उडान संस्थाको मेरिल्यान्डमा अवस्थित गाडर्ड स्पेस फ्लाईट सेन्टरमा एरोनटिकल ईन्जिनियरको पदमा कार्यरत थिए ।