अनलाईन रेडियो मार्फत बिच्चलीमा परेकी बालिकालाई सहयोग जुटाउदा


– बसन्त रानाभाट
करिब डेढ बर्ष अगाडीको कुरा, बिचल्लीमा परेकी काभ्रेकी ६ वर्षीया बालिकाको खबर सुनेर साह्रै मर्माहत बनायो। बाबुआमाबाट सहारा नपाएपछि बालिका बिचल्लीमा परेको भन्ने समाचार आयो। बाबु डिल्ली तिमिल्सिना गाडीको सहचालक रहेछन् उनि एचआईभी संक्रमित बन्न पुगेछन् । उनीबाट नै आमा कमला तिमिल्सिना पनि संक्रमित बनिन् । तिन महिनाको अर्को बच्चा पनि रहेछ तर आफुलाई एचआईभि भएको थाहा भए पछि सानी ३ महिना कि छोरीलाई आफनै आमाले मारिदिएकी रे, त्यसैले उनि थुनामा रहेछिन् ,कर्तव्य ज्यान मुद्धाको अभियोगमा । तर बालिका कबिता हाल( साढे सात बर्ष) भाग्य बस संक्रमित रहेनछिन्।

तर उनलाई गाउमा एचआईभी लागेकी छोरी,यसलाई पनि रोग छ हामीलाई पनि सर्छ भन्दै नछुने,हेला गर्ने गर्दा रहेछन्। उनीलाई हेर्ने संरक्षकले पनि राम्रो सँग नहेर्दा उनि बिचल्लीमा परेको खबर आयो। स्कुल जादा ड्रेस नहुने,कापी किताबको अभाब,न त राख्ने झोला नै, बिचरी बालिकाको अबस्थाको पिडा सुनेर साहेद कसको मन बहकिदै होला र ? बाबु डिल्ली भने एचआईभी लागेपछि आफ्नै तालमा जीवन बिताइरहेका भन्ने समाचार आयो। उनले छोरी कवितालाई ब्यवास्था गरेको खबरले, झनै स्तब्ध बनायो ।सानी बिचरी बालिकाको आखिर यसमा के नै दोष थियो र ?

बिचल्लीमा परेकी बालिकाको हेरचाह, स्वास्थ्य, र शिक्षामा केही सहयोग आईदिए भलो हुने थियो यही आशयमा समाचार लेखेका थिए कान्तिपुरकर्मी मनोज बस्नेतले। हाल उनि अन्नपूर्ण पोष्टमा आबद्द छन्। अनलाईन रेडियोमा देश विदेशका स्रोता सँग सधै जसो स्काईपमा कुरा गर्थे। त्यति बेला ‘रेडियो प्रयासमा’ अनलाईन मार्फत प्रबासी नेपालीहरुसँग गन्थन गर्थे। मलाई साह्रै आनन्द आउछ बिदेशमा रहेका नेपालीहरुका बिचार सुन्न र उनीहरु सँग बहकिन। आश्विनको महिना थियो उनै बालिकाको बारेमा चर्चा गर्दै कार्यक्रम शुरु गरे।

तिज नजिकिदै गर्दाको बेला एक त प्रबासमा रहेका चेलीबेटीहरुलाई माईतीको यादले सताई रहेको हुदो हो,त्यस पछि बालिकाको कहानी सुनाए। सुनाउदा आफै भाबुक हुनु त स्वभाबिक नै रह्यो तर त्यो समय लाग्छ मेरो भित्री मन बोलेको थियो। कार्यक्रम उनै बच्चीको कारणले साह्रै भाबुक बनेछ। पछि रेकर्ड सुन्दा आफुलाई पनि रुन मन लाग्यो। त्यतिबेला मलाई सबैभन्दा बढी ईजरायल,मलेसिया,कतार,साउदी अरेबिया,कुबेतका स्रोताहरुले धेरै सुन्नु हुन्थ्यो। एक जना ईजरायलका स्रोता सुरेन्द्र प्रसाईले भने, बच्चीलाई स्कुल पठाउ सर,मेरो तर्फबाट ५० युरो ल अभियान जारी राख्नुहोस् भन्नुभयो।

त्यसपछि ईजरायलका नेपालीहरुमा एक किसिमको लहर नै चल्यो। साहेद मैले स्काईप फोनईन कार्यक्रममा ईजरायलका सयौ दिदिबहिनीहरु कुरा गरे होला। उहाहरुको मनकारी भावनाले आफै चकित थिए। फेरि दाजुभाईहरुको सहभागिता र सहयोग पनि कम थिएन। तिजको समय थियो धेरै महिला दिदीबहिनीहरुले पनि मनका बह पोख्दै कार्यक्रममा फोन गर्नु हुन्थ्यो। लौ तिजको बेला छ १० युरो ,२० युरो,५०युरो हुदै करिब हप्ता दिनमा रु १ लाख ८ हजार ६ सय ७५ रुपैयाँ जम्मा भयो। कवितालाई स्कुल पठाउने है भन्दै शुरु गरेको अभियानलाई लामो समय सम्म जारी राखेको भए अझ बढी रकम जुट्ने पनि थियो होला तर जति सक्छौ तत्काल सहयोग गरौ भन्ने आशयले हामीले उठेको रकम हस्तान्तरण गर्ने निर्णय गर्यौ।

रकमको सही सदुपयोग होला कि नही ? कतै दुरुपयोग हुने त हैन ? भन्दै कान्तिपुर कर्मी पत्रकार मनोज बस्नेत (हाल अन्नपूर्ण पोष्ट) सँग गरेको छोटो रेडियो अन्तरबार्ता अडियो AUG 21,2013

ईजरायलमा सुरेन्द्र लगायत परी केसी ढकाल र साउदीका कृष्ण घिमिरेले यो अभियानमा खुलेर लाग्नु भयो। हाम्रो यो अभियानबाट प्रभावित भएर नमस्ते नेपाल ग्रुपले पनि सहयोग जुटायो रु ५० हजार जति यो गरी बालिकाको लागि करिब १ लाख ५८ हजार हस्तान्तरण गर्न सफल भयौ। पत्रकार मनोज बस्नेतको रोहबरमा बालिकाका आफन्तहरुलाई रकम हस्तान्तरण गर्न सफल भयौ।पत्रकार बस्नेतले बालिका स्कुल जान थालेको खबर सुनाउनु भयो त्यसले झन् खुशी र उत्साहित बनायो।

imageतस्बिर:- पत्रकार मनोज बस्नेत बालिका कबिता तिमिल्सिनालाई रकम हस्तान्तरण गर्दै              (फोटो फाईल सन् २०१३ )

कबिता नेपाली समाजको एक उदारणीय पात्र मात्र हुन्। हाम्रो समाजमा आज हजारौ कबिता बिचल्लीमा परेका छन्। तर सबैलाई सहयोग गरेर उद्दार गर्ने हैसियत केबल राज्यले मात्र लिन सक्छ। तर बिडम्बना करिब ७ बर्ष देखि संबिधान सभाको नाममा अरबौ रकम राज्यको ढुकुटीबाट रित्तीसकेको छ। तर जनताले संबिधान पाउन सकेका छैनन् । आज हजारौ कवितालाई स्कुलमा पठाउन सकिने रकम सभासदको भत्तामा खर्च भईरहेको छ। माननीय ६०१ ज्युहरुलाई प्रश्न, एउटी कबिता त स्कुल जान थालिन् बाकि हजारौ कबिताहरुलाई स्कुल पठाउने कहिले ?