साउदी अरबका ९० वर्षीय राजा अब्दुल्लाजिजको निधन


बीबीसी/

 साउदी अरबका राजा अब्दुल्लाह विन अब्दुल्लाजिजको निधन भएको छ । साउदी अरबका अधिकारीले शुक्रबार विहान जारी गरेको विज्ञप्तीमा उनका भाई सलमान नयाँ राजा नियुक्त भएको बताइएको छ ।

सरकारी विज्ञप्ती आउनुअघि साउदीको सरकारी सञ्चार माध्यमले राजपरिवारका सदस्य मृत्यु हुँदा देखाइने संकेत प्रशारण गरेका थिए ।

फोक्सोमा संक्रमण देखिएपछि ९० वर्षीय अब्दुल्लाह केही हप्तादेखि अस्पतालमा उपचारत थिए । सन् २००५ मा राजा बनेका अब्दुल्ला पछिल्ला बर्ष निरन्तर विरामी थिए ।

अब्दुल्लाहको मृत्युपछि उनका भाई ७० वर्षीय सलमान राजा भएका छन् भने अर्का भाई ६० वर्षीय मुकरिनलाई राजकुमार घोषणा गरिएको छ ।

तीनै जना आधुनिक साउदीका संस्थापक राजा अब्दुल्लाजिजका छोरा हुन् । अब्दुल्लाजिजको सन् १९५३ मा मृत्यु भएको थियो ।

राजा अब्दुल्लाहको निधन भएको प्रति अमेरिकी राष्ट्रपति बाराक ओबामासहित विश्वभरका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् । अब्दुल्लाहको मृत्युसँगै साउदी अरबमा सुरक्षा संवेदनशीलता बढ्ने अनुमान गरिएको छ ।