पोखरा पुम्दीभुम्दीमा आफ्रनै विद्यालयको १३ वटा ल्यापटप चोर्ने विद्यार्थी पक्राउ


पोखरा /

पुम्दीभुम्दीस्थित ओखलेडाँडा पुम्दीकोट माबिबाट केहिदिन अघि हराएका १३ थान ल्यापटप प्रहरीले फेला पारेको छ । विद्यालयको झ्याल तोडफोड गरेर स्थानीय दुई युवाले गत विहीबार ल्यापटप चोरेका थिए ।

बैदाम चौकीका प्रहरी इन्सपेक्टर सुन्दर तिवारीका अनुसार खोजतलासको क्रममा शनिबार राती स्थानीय युवाको घरबाट १० थाल ल्यापटप भेटिएका हुन् । ल्यापटप चोरेका पोखरा–२५, पुम्दीभुम्दीका १७ वर्षिय शंकर नेपाली र २४ वर्षिय दीपक नेपाली पक्राउ परेका छन् । उनीहरुले चोरेकामध्ये १० वटा ल्यापटप घरको खाटमुनि बोरामा लुकाएर राखेको अवस्थामा फेला पारेको तिवारीले बताए । तिवारीका अनुसार शंकर सोहि विद्यालयका ८ कक्षाका विद्यार्थी हुन् ।

युवाहरुले चोरेका मध्ये दुईवटा ल्यापटप बिक्री गरेका थिए । अझै एउटा ल्यापटप बारिमा लुकाएर राखेको बयान दिएपनि अझै भेटिएको छैन । ल्यापटप किन्ने पोखरा–६, जरेवरस्थित गोर्खाली मोवाईलका ३४ वर्षिय लोकबहादुर प्रजा र पृथ्वीचोकस्थित न्यू लामिछाने मोवाईल हाउसका ३० वर्षिय कमल लामिछाने पक्राउ परेका छन् । प्रजाले १० हजार रुपैयाँमा ल्यापटप किनेका थिए भने लामिछानेले ३ हजार रुपैयाँ मुल्य पर्ने मोवाईलसँग ल्यापटप साटेका थिए ।