पेरिस हमलाकारीले म्याड्रिडको भ्रमण गरेको बारे स्पेनको चासो , अनुसन्धान जारी


बार्सिलोना/
पेरिस हमलाको केही दिन अघि एक जना हमलाकारीले म्याड्रिडको भ्रमण गरेको बारे स्पेनले अनुसन्धान गरिरहेको छ। युरोपमा आतंककारी गतिबिधि बढी रहेको बेला स्पेनले पनि चासो देखाएको हो । आतंकवादी गतिविधिको आंशकामा खानतलासी र सम्भावित इस्लामवादी उग्रवादीहरुको गिरफ्तारीपछि युरोपभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ।

अघिल्लो हप्ता पेरिसमा भएको हमालामा १७ जनाको ज्यान गएपछि युरोपका देशहरुमा कडा सुरक्षा व्यवस्था कायम गरिएको हो । पेरिस हमलामा संलग्न रहेको आशंकामा १२ जनालाई गिरफ्तार गरिएको छ। त्यस यता फ्रान्समा उच्चतम सतर्कता अपनाइएको छ र झन्डै १ लाख २० हजार प्रहरी र सैनिकहरु परिचालन गरिएको बताइन्छ।

यस्तै पूर्वी बेल्जियमको एउटा शहरमा भएको बन्दुक हानाहानमा दुई जना सम्भावित उग्रवादी मारिएपछि ५ जना माथि आतंकवादी गतिविधिमा संलग्न रहेको अभियोग लगाइएको अधिकारीहरुले बताएका छन्। बेल्जियममा २० जना भन्दा बढीलाई गिरफ्तार गरिएको छ । वेल्जियन सरकारले आतंकवादीहरुसँग जुध्न नयाँ कानुनहरुको घोषणा गरेको बिबिसी नेपालीले जनाएको छ।

जसमा आतंकवादी गतिविधिमा संलग्न हुन गरिने यात्रालाई अपराध मान्ने र आतंकवादी गतिविधिमा संलग्न हुनसक्ने आशंका गरिएका दोहोरो नागरिकता प्राप्त गरेका व्यक्तिहरुको वेल्जियन नागरिकता रद्द गर्ने लगायत छन्।

यता शुक्रबार गरिएको खानतलासीका क्रममा जर्मनीका प्रहरीहरुले २ जना पुरुषलाई गिरफ्तार गरेका छन्।ती मध्ये एकले टर्किश र रुसी मूलका मानिसहरु आबद्ध उग्रवादी समुहको नेतृत्व गरिरेको ठानिएको छ।

प्रहरीले उक्त समुहले सिरियामा हिंसात्मक गतिविधि गर्ने योजना बुनिरहेको तर जर्मनी भित्रै आक्रमण गर्ने तयारी गरेको कुनै संकेत नपाइएको जनाएको छ।