डिभिजन टूमा नेपाल युगाण्डासँग २ रनको झिनो अन्तरले पराजित


काठमाडौं /

आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूमा नेपालले  आफ्नो पहिलो खेलमा नेपाल युगाण्डासँग २ रनको झिनो अन्तरले पराजित भएको छ । युगाण्डाले प्रस्तुत गरेको १४७ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल १४४ रनमा अल आउट भयो ।

सामान्य सुरुवात गरेको नेपालले कुल ३५ रन बनाउँदा पहिलो विकेटका रुपमा नरेश बुढायरलाई व्यक्तिगत १६ रनमा गुमायो । सुवास खकुरेल र ज्ञानेन्द्र मल्लले नेपालको पारी सम्हाल्ने प्रयास गरे । दोस्रो विकेटका रुपमा सुवास खकुरेल ३२ रनमा आउट हुँदा नेपालको स्कोर ६७ रन थियो ।

तेस्रो विकेटका रुपमा कप्तान पारस खड्का व्यक्तिगत ५ रनमा आउट भएपछि नेपाल दबावमा आयो । त्यसपछि शरद भेसवाकर ५, विनोद भण्डारी १ र सोमपाल कामी ४ रनमा आउट भए । यसअघि दशौं नम्बरमा व्याटिङ गर्ने सोमपाललाई सातौं नम्बरमा खेलाइएको थियो । तर, प्रशिक्षक र कप्तानको यो रणनीति सफल देखिएन ।

११० रन बनाउँदा ८ विकेट गुमाएको नेपाली टोलीलाई शक्ति गौचनले केही आश देखाए । अन्तिम तीन ओभरमा २७ रन चाहिएको अवस्थामा उनले चौथो र छैटौं बलमा छक्का हान्दै नेपालले आश देखाए ।

तर, ४८.३ ओभरमा उनी क्याचआउट भए । २६ बलको सामना गरेका उनले दुई छक्काको मदतमा १९ रन बनाए । नेपालको पारीमा उनले मात्र छक्का हानेका थिए ।
अन्तिम ओभरमा नेपालाई १० रन चाहिएकामे थियो । पहिलो बलमा करण केसीले चौका हान्दै फेरि नेपाललाई खेलमा फर्काउने संकेत दिए ।

दोस्रो र तेस्रो बलमा रन जोडेको नेपालले चौथो बलमा रन लिन सकेन । पाँचौं बलमा लेग बाइ भएर एक रन पाएको नेपाललाई अन्तिम बलमा ३ रन चाहिएको थियो । तर, बसन्त रेग्मी आउट भएपछि नेपाल २ रनको झिनो अन्तरले पराजित भएको छ ।