सरकारको निर्देशन विपरीत आइतबारदेखि एसएलसी अभ्यास परीक्षा


काठमाडौ /

सरकारले ‘एसएलसी सेन्डअप’ परीक्षा नलिन निर्देशनलाई अटेर गरी निजी विद्यालयले ‘एसएलसी अभ्यास परीक्षा’ का नाममा आइतबारदेखि परीक्षा सञ्चालन गर्दैछन् ।
एसएलसी परीक्षा आगामी चैतको पहिलो साताबाट सञ्चालन हुँदैछ ।

सो परीक्षाको तयारीका लागि निजी विद्यालयले विगतदेखि नै सेन्डअप परीक्षा सञ्चालन गर्दै आएका छन् । सरकारको निर्देशन पनि मान्ने तर आफ्नो कार्यशैली पनि परिवर्तन नगर्ने स्थितिमा निजी विद्यालय देखिएका छन् । पछिल्लो समयमा कतिपय सामुदायिक विद्यालयले पनि शुल्क समेत लिई अभ्यास परीक्षा सञ्चालन गर्न थालेका छन् ।

शिक्षा विभागले दुई साताअघि सबै जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिई शिक्षा नियमावलीको छैटौँ संशोधनको दफा ४७ बमोजिम त्यस प्रकारका परीक्षा सञ्चालन नगर्न आह्वान गरेको थियो । विभागका महानिर्देशक डा लवदेव अवस्थीले सो निर्देशन पालना गर्न निजी विद्यालयका छाता संस्थाले सहमति जनाइसकेको अवस्थामा पनि व्यवहारमा नरोकिएकाले त्यस्तो कार्यमाथि अनुगमन र कारबाही गर्न आफूले क्षेत्रीय शिक्षा निर्देशक र जिल्ला शिक्षा अधिकारीलाई एसएमएसबाट निर्देशन दिएको बताए ।
महानिर्देशक डा अवस्थीले भने, “विद्यार्थीको सिकाइलाई प्रवद्र्धन गर्ने क्रियाकलाप गर्न सकिन्छ तर त्यसका नाममा रकम असुली र केन्द्रित परीक्षा सञ्चालन हुनु गैरकानुनी हो ।”
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसनन (एन प्याब्सन), निजी विद्यालय शिक्षा विकास समाज (सेडिप्स) र संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) मा आबद्ध विभिन्न विद्यालयले आइतबारदेखि आगामी दुई साताभित्र हुने गरी सो परीक्षा तय गरेका छन् ।
प्याब्सनले क्षेत्र, इलाका र विद्यालयस्तरमा गरी सो परीक्षा सञ्चालन गर्न लागेको हो ।

एउटै शैक्षिक सत्रमा दुई पटक वार्षिक परीक्षा हुन नहुने शिक्षा नियमावलीको व्यवस्थाविपरीत केन्द्रिकृत र शुल्क असुल गरी सो परीक्षा नलिन शिक्षा विभागले गत साता निर्देशन जारी गरेको थियो । वर्षभरि ७५ प्रतिशत हाजिरी भएका विद्यार्थीलाई वार्षिक परीक्षामा सहभागी गराउनुपर्ने हुन्छ ।
आइतबार बिहान ८ देखि ११ बजेसम्म सो परीक्षा हुने प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले बताए । उनले परीक्षामा कसैलाई उत्तीर्ण र अनुत्तीर्ण नगराइने जनाउँदै अभ्यास परीक्षा लिन पाउनु आफूहरुको अधिकार भएको बताए । परीक्षा सामेल हुने विद्यार्थीको सङ्ख्या भने एकिन छैन ।
उनले आफूहरुले विसं २०६८ पछि यो परीक्षामा उत्तीर्ण र अनुत्तीर्ण नगराएको र सरकारको निर्देशनलाई पनि अटेर नगरेको स्पष्ट गरे । निजी विद्यालय शिक्षा विकास समाज (सेडिप्स) ले पनि आइतबारदेखि परीक्षा सञ्चालन गर्दैछ । सो संस्थामा आबद्ध बाग्मती उमाविका प्राचार्य सुरेन्द्र सुटौलाले एकै प्रकारको प्रश्नपत्र नभई विविध प्रश्नावलीयुक्त परीक्षा सञ्चालन गरिने तर उत्तीर्ण र अनुत्तीर्ण नगराइने बताए ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसनन (एन प्याब्सन) ले यही १२ गतेदेखि सो परीक्षा लिने तय भएको अध्यक्ष कर्णबहादुर शाहीले जानकारी दिए ।
साना विद्यालयको सञ्जाल संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) मा आबद्ध विद्यालयले भने यही ५ गतेबाट सो परीक्षा सञ्चालन गर्ने सो संस्थाका अध्यक्ष बालमुकुन्द कार्कीले बताए ।

अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारी अभ्यास परीक्षाका नाममा रु एक हजारसम्म लिइएको र सरकारले गर्न हुन्न र अवैध भनेर मौखिक प्रतिक्रिया मात्र दिने गरेकाले समस्या यथावत् रहेको बताउछन् ।
– रासस