एनआरएन भवनको लागि जग्गाको खर्च मात्र करिब १३ करोड, एक महिना भित्र शिलान्यास गर्ने तयारी


काठमाडौं /
गैरआवासीय नेपाली संघ (एनआरएन)ले बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि केन्द्रीय कार्यालय भवन बनाउने भएको छ । संघले हालै बालुवाटारमा तीन रोपनी जग्गा खरिद गरेको छ । जग्गा खरिदसँगै एक महिनाभित्र भवन शिलान्यास गर्ने एनआरएनको तयारी छ ।
एनआरएन आईसीसीले गठन गरेको जग्गा खरिद समितिको सुझावअनुसार प्रतिआना २६ लाख ५० हजार रुपैयाँका दरले सो स्थानमा जग्गा खरिद गरिएको हो ।
जग्गाको कुल लागत १२ करोड ७२ लाख रुपैयाँ परेको छ । सोबापत एनआरएनले सोमबार नै जग्गाधनीलाई चार करोड रुपैयाँ बैना दिइसकेको छ ।

‘हाम्रा साथीहरु एक बर्षभन्दा लामो समयदेखि जग्गा खोज्न लागिरहनुभएको थियो, ढिलै भए पनि निकै राम्रो ठाउँमा जग्गा पाइयो,’ अध्यक्ष घलेले भने । ‘एक महिनाभित्रै हामी शिलन्यास गर्ने तयारीमा छौं,’ अध्यक्ष घलेले भने-‘भवन निर्माणका लागि प्रतिबद्धता जनाइएको रकम उठाउने र थप रकम संकलन गर्ने कार्यलाई पनि तिब्रता दिन्छौं ।’

अध्यक्ष घलेले कार्यभार सम्हालेपछि आफ्नो पहिलो प्राथमिकतामा भवन निर्माणलाई राखेका थिए । सोहीअनुसार उनको संयोजकत्वमा भवन निर्माण समिति गठन भइ बिश्वका बिभिन्न मुलुक रकम संकलन अभियान संचालन भइरहेका छन् ।
भवन निर्माणका लागि अहिलेसम्म करिव १७ करोडको प्रतिबद्धता आइसकेको छ भने त्यसमध्ये करिव ५ करोड रुपैयाँ एनआरएनको काठमाडौंस्थित खातामा जम्मा भइसकेको छ ।

करिव १५ करोड लागतमा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि काठमाडौंको मुख्य स्थानमै जग्गा पाइएपछि त्यसको लागत बढाउने गरी एनआरएनले भवन निर्माण गर्ने भएको छ ।
हाल गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालय नेपाल उद्योग वाणिज्य महासंघको भवनको एउटा कोठाबाट संचालन हुँदै आएको छ ।
-onlinekhabar