१ अर्बको घोषणा गर्दै शेष घले भन्छन् – समाजबाट जे पायौं त्यसको केही हिस्सा फिर्ता


काठमाडौं /

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङले नेपालमा परोपकारी कामका लागि एक अर्ब रुपैयाँ खर्चिने घोषणा गरेका छन् ।
एमआईटी ग्रुप फाउन्डेसनमार्फत् नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्नेगरी कोषको घोषणा गरिएको हो । निजी क्षेत्रबाट यति ठूलो परोपकारी कोष घोषणा भएको नेपालमा सम्भवतः यो नै पहिलो हो ।

‘हाम्रो जीवनकालमा समाजबाट जे पायौं त्यसको केही हिस्सा समाजलाई फिर्ता गर्ने परोपकारी अभियानको थालनी गर्नु पाउनुको खुसी म शब्दमा बयान गर्न सक्दिन ।’ –

बिहीबार काठमाण्डौ आयोजित पत्रकार सम्मेलनमा घले दम्पत्तिले आफ्नो कठिन जीवनयात्रा सुनाउँदै भोलीको पुस्ताले त्यस्तो दुःख खेप्नु नपरोस् भनी सहयोगका लागि बृहत खाकासहित आएको बताए 

अस्ट्रेलियाको धनी सूचीमा रहेका  घलेले आफू पैसाले मात्र होइन मनले पनि धनी रहेको कुरा  प्रमाणित गरेका छन् । 

लम्जुङको दुर्गम गाउँमा जन्मेका घलेले आफ्नो अभाव र संघर्षको विगत सम्झँदै गाउँमा शिक्षा र स्वास्थ्य सेवाको पहुँच नहुँदा आफ्नै बहिनी र साला गुमाउनु परेको तितो भोगाइ सुनाए । उनले भने, ‘आगामी पुसताले हामीले जसतो न्यूनतम स्वास्थ्य र शिक्षाबाट बञ्चित हुन नपरोस् ।

एमआईटी फाउन्डेसनको स्थापनासँगै काठमाण्डौंमा यसको संरचना निर्माणको कार्य सुरु भएको छ । संरचना निर्माणपछि एमआईटी फाउन्डेसनका बिज्ञ समूहले सहयोग जरुरी रहेका अत्याबश्यक परियोजनाहरुको पहिचान गरी कार्य थाल्ने छ ।

दुई दशकदेखि अष्ट्रेलियामा ब्यबसाय गरिरहेका घले दम्पत्तिले एमआईटी ग्रुप होल्डिङ्समार्फत् शिक्षा, पर्यटन र रियलस्टेट क्षेत्रमा लगानी गरिरहेका छन् । उनीहरुकै लगानीमा केही समयअघि मात्र नेपालमा करिव ८ अर्बर् रुपैयाँको लागतमा शेराटन काठमाण्डौ होटल निर्माण सुरु भइसकेको छ ।