कास्की भाचोक बासि खल्तीको पैसा हालेर बाटो बनाउँदै


पोखरा/

आफ्नो निजी खल्तीबाट रकम उठाएर कास्कीको उत्तरी भाचोक गाउँका बासिन्दाले कच्ची मोटरबाटो निर्माणको कामलाई अन्तिम चरणमा पु¥याएका छन् । भाचोक पोखरा जनसरोकार समिति, पुरानो भाचोक निर्माण तथा उपभोक्ता समिति र स्थानीय गाउँले तथा देश विदेशमा रहेका भाचोक बासीको संयुक्त पहलमा साडे चार किलोमिटर लामो बाटो खन्ने काम अहिले पनि जारी रहेको छ ।

बाटोले कास्कीको भाचोक गाविसको भाचोक गाउँ र सोही जिल्लाको सैमराङ गाविसको वारचोक गाउँलाई जोड्ने जनसरोकार समितिका अध्यक्ष आशपुर गुरुङले जानकारी दिए । कूल बाटो मध्ये साडे दुई किलोमिटर खण्ड खनिसकिएको र विचमा पहरो परेका कारण लक्ष्य गरे भन्दा केही ढिला अर्थात फागुन महिनाको पहिलो सातासम्म काम सम्पन्न हुने लक्ष्य राखिएको समितिले जनाएको छ । बाटो सम्पन्न गरिसक्दा २२ लाख देखि २४ लाख रुपैयाँ खर्च लाग्ने अनुमान समितिले गरेको छ ।

१२ लाख रुपैयाँ मा नै सम्पन्न गर्ने अनुमान गरी एक महिना अघि खन्न सुरु गरिएको बाटो पहरो परेका कारण खन्न ढिलाई भएको र लागत पनि बढेको गुरुङले बताए । यो बाटो बनेपछि बर्खामा पनि भाचोकसम्म छोटो बाटो हुँदै मोटर पुग्न सक्ने र दुई गाविस विच सम्पर्कमा समेत सहजता हुने बाटो निर्माणका अभियन्ता एवं भाचोकका बासिन्दा कल्याण गुरुङले बताए । बाटो निर्माणका लागि देश विदेशमा रहेका भाचोक बासिबाट १३ लाख ७० हजार रुपैयाँ रकम उठाइएको उनले सुनाए । यसबाहेक गाउँलेले पनि गच्छेअनुसार सक्दो सहयोग गरेको उनले बताए । राज्यले सहयोग नगरेपनि हामी आफ्नै पहलमा बाटो निर्माणमा जुटेका हौं, उनले भने ।

बाटो निर्माणका लागि बेलायत र हङकङ बस्दै आएका भाचोकबासीबाट पनि रकम उठाइएको छ । बाटोलाई टुंगोमा पु¥याउन स्थानीय समाजसेवी एवं पूर्व क्याप्टेन मानवहादुर गुरुङको अध्यक्षतामा पुरानो भाचोक निर्माण तथा उपभोक्ता समिति गठन गरिएको छ । समितिले गाउँलेलाई जागरुक बनाई बाटो सम्पन्न गर्न भूमिका खेल्दै आएको स्थानीय समाजसेवी हरिप्रसाद गुरुङले बताए । बाटो बनेपछि गाउँलेले सहज यात्रा गर्न पाउने समितिका सदस्य रुपवहादुर गुरुङले बताए ।

पृथ्वीराजमार्ग अन्तर्गत पर्ने कास्कीको लेखनाथ स्थित विजयपुर वा कालिकाचोकबाट कालिका, सौर्य, हुँदै भाचोक सम्म बाटो पुगे पनि सो मार्ग अन्तर्गत पर्ने घुम्ले बजार र थुम्सिकोट छुट्याउने मादी नदीमा पुल नहुँदा भाचोकसम्म हरेक मौसममा पोखराबाट सहज र सिधा मोटर पुग्न सकेको थिएन । तर घुम्ले बजार भन्दा केही माथि भगवतीमा मादी नदी माथि पुल बनेपछि सौर्यबाट तल झरेको सवारी घुम्ले बजार नगई भगवती थुम्सिकोट हुँदै भाचोक सम्म जाने वातावरण बने पनि यो मार्ग घुमाउरो हुन पुगेको छ । भगवतीको पुल तरेको सवारी थुम्सिकोट नगई वारचोक उक्लेर भाचोक पु¥याउने योजनामा गाउँले अहिले जुटेका हुन् । हाल गाउँमा बन्दै गरेको मोटरबाटोले कास्कीको सैमराङ गाविस र भाचोक गाविसलाई जोड्ने छ ।