भव्य आतिशबाजि संगै नयाँ वर्ष २०१५ को स्वागत, सडकमा दर्शक खचाखच


 

पोखरा, /मध्यरातमा फेवाताल किनार बसुन्धरा पार्कमा भव्य आतिसबाजि गर्दै पोखरेलीहरुले अंग्रेजी नयाँ वर्ष २०१५ को स्वागत गरेका छन् । रेवान पोखराले आयोजना गरेको १६ औं सडक महोत्सवमा रम्दै नयाँ वर्षको स्वागत गर्न पोखरेलीहरु लेकसाइड पुगेका थिए । नयाँ वर्षको स्वागत गर्न गएका विदेशि तथा स्वदेशि पर्यटकहरुले लेकसाइडको बाटो खचाखच भरिएको थियो । महोत्सवको मुख्यस्थल बसुन्धरा पार्क हजारौ दर्शकले भरिंदा नविन के भट्टराई, रोविन एण्ड न्यू रिभोलुसन तथा अभय एण्ड स्टिल इन्जोर्स व्याण्डको प्रस्तुतीमा दर्शक झुमेका थिए ।
‘विगतका वर्षहरुलाई मध्यनजर गर्दै यसपटक इभको दिन विशेष सुरक्षा व्यवस्था मिलाइएको थियो’ रेवान पोखराका सदस्य एवं महोत्सव सुरक्षा समिति नरेश भट्टराईले भने । महोत्सवको झण्डै साढे तीन किलोमिटर क्षेत्रमा पनि ठाउँ ठाउँमा सुरक्षाकर्मि परिचालन गरिएको थियो । ‘गत वर्षहरुमा सडकमै रेष्टुरेण्टहरु निकालिने हुँदा पनि सुरक्षा व्यवस्थामा केहि चुनौती आउँथ्यो तर यसपटक रेष्टुरेण्टहरु पेटिमा सिमित भएकाले सडक खुल्ला हुँदा सुरक्षा व्यवस्थापनमा कठिनाइ भएन’ उनले भने ।
बुधबार महोत्सवमा दर्शकको भिड बढेपछि आयोजकले दुईवटा टिकट काउण्टर थप गरेका थिए ।

‘पार्क भित्र एउटा काउण्टर मात्रै थियो, तर थामिनसक्नु दर्शक ओइरिएपछि बाहिर अरु दुई काउण्टर थप्यौं’ महोत्सवका सह संयोजक विष्णु बानियाँले भने । ‘आज सम्म आइपुग्दा यसपटकको महोत्सव पनि सफल भएको मानेका छौं’ बानियाँको भनाई थियो । बुधबारपनि सडकमा विभिन्न समुहका साँस्कृतीक कार्यक्रमहरु भए । यसपटकको महोत्सवमा आर्थिक कारोबार पनि उल्लेख्य भएको रेवान पोखराका सह–कोषाध्यक्ष योगश भट्टराइले बताए ।

बुधबार दिउसो महोत्सवको मुख्य केन्द्र बसुन्धरापार्कमा स्थानिय हाँस्य कलाकारहरु युवराज भण्डारी, राजेन्द्र नेपाली र दिपक थापाले भरपुर मनोरन्ज दिलाएका थिए । जीवन दाहाल, प्राजपति पराजुली लगाएतका कलाकारहरुले लोकगित प्रस्तुत गरेका थिए ।