पोखरा सडक महोत्सव सुरु,


 

– सागर राज तिमिल्सिना
पोखरा, १३ पौष/नेपालका लागि भारतीय राजदूत रञ्जित रेले पोखरा लगायत नेपालको पर्यटन प्रवद्र्धन गर्न भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सार्क सम्मेलनको समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा दुई देशबीच थुप्रै सहमति भएको बताउँदै उनले नेपालको पर्यटन प्रवद्र्धनलाई पनि भारतले प्राथमिकता दिने बताए । आइतबार पोखरामा सुरु सडक महोत्सवको उद्घाटन गर्दै रेले पोखराको सुन्दरतालाई प्रचार–प्रसार गरेमा अझ धेरै पर्यटक बढ्ने बताए ।

पोखरा सडक महोत्सव सुरु, पर्यटन प्रबद्र्धन गर्न भारतले सहयोग गर्छ ः राजदूत रे
‘हिमालयको छायाँ आउने फेवाताल छेउमा पोखरा रहेछ,’ उनले भने, ‘यसले पोखराको सौन्दर्यता बढाएको छ । जुन सुन्दरता हेर्न भारतीय मात्र होइन संसारभरबाट पर्यटक पोखरा आउँछन् ।’ यहाँको सुन्दरताको बारेमा थाहा पाएमा विभिन्न देश घुम्न जाने भारतीय पर्यटक आगामी दिनमा पोखरा आउने रेले बताए । ‘पोखरा घुम्न आउने भारतीय पर्यटकको संख्या निकै राम्रो छ,’ उनले भने, ‘यहाँको सुन्दरताको बारेमा जानकारी पाएमा पोखरा आउने भारतीय पर्यटकको संख्या अझै बढ्छ । छिमेकी देशको सुन्दरताका बारेमा भारतीयलाई जानकारी हुनुपर्छ ।’

त्यसैगरी, राजदूत रेले नेपाल र भारतका विभिन्न शहरबीच सिधा हवाई उडान हुनेपर्ने बताएका छन् । ‘दुई देशका विभिन्न शहरबीच सिधा हवाई उडान भएमा दुवै देशको पर्यटन प्रवद्र्धनमा टेवा पुग्छ,’ उनले भने । काठमाडौंसँग मात्र नभइ पोखरा लखनउ र बनारससम्म पनि सिधा उडान गर्न जरुरी रहेको रेको भनाइ छ । ‘सिधा उडानका लागि दुवै देशले पहल गर्नुपर्छ,’ उनले भने । पर्यटकलाई बिना झन्झट दुई देशबीच आउने–जाने वातावरण बनाउन आवश्यक रहेको उनले बताए ।

सभासद रवीन्द्र अधिकारीले अंग्रेजी नयाँ वर्ष विदेशीको मात्र नभएर नेपालीको पनि हुँदै गएको बताए । पर्यटक प्रवद्र्धन गर्न सरकारी प्रयासमात्र प्रयाप्त नहुने बताउँदै उनले जनस्तरबाट पनि सम्बन्ध बिस्तार गरेर पर्यटन प्रवद्र्धन गर्न सकिने बताए । रेवानका केन्द्रीय अध्यक्ष प्रमोद जैसवाल, पर्यटन बोर्डका सदस्य टीकाराम सापकोटा, पोखरा पर्यटन परिषदका अध्यक्ष सूर्यबहादुर भूजेल लगायतले भारतीय पर्यटकलाई अझ बढी भित्र्याउन सकिए पोखराको पर्यटन क्षेत्र उभो लाग्ने बताए ।

पोखरामा रहेका होटल तथा रेष्टुराँहरुलाई देश विदेशमा चिनाउने तथा स्थानीय उत्पादन, कृषि, अर्गानिक सामानको प्रदर्शन गरी सांस्कृतिक सम्पदाको संरक्षण गर्न महोत्सव सफल हुने उनले बताए । महोत्सव पुस १७ गतेसम्म जारी रहनेछ ।