कानुन मन्त्रि ज्यू, पुजा बोहराले कैले पाउँने न्याय ?


– अर्जुन बराल

सन् १८९४ मा लेखक अनातोली फ्रान्सले आफनो राजसी समानतामा कानुनले धनी र गरिबजस्तालाई पुलमुनी सुत्न, सड्कमा भिख माग्न,रोटीका टुक्रा चोरी गर्न प्रतिबन्ध गर्दछ भने मानवसमाज राष्ट्र साथै बिश्वलाई शान्त तथा गतिशील बनाउन मानवीय ब्यबहारलाई ब्यबस्थीत र अनुशासीत बनाउँदै समाजको संरचनालाई आदर्शमुखी बनाउँने संयन्त्रनै कानुन हो भनेका थिय ।

प्रसंग यहाँ बैतडी कैलापाल गाबिसकी बलात्कृत युवती १४ बर्षीय पुजा बोहराको अदालतबाट उल्टाईएको फैसला जोड्न खोजीएको हो । जब पुजा बोहराले आफनो बेदनालाई पत्रबाट नेपाली कांग्रेसका बौदिक ब्यत्तित्व मानिने तथा न्यायपरिषदका सदस्य एवंम कानुन तथा न्यायमन्त्री नरहरि आचार्यलाई लेखिन् तब यो घटनाले तमाम नेपालीलाई रुवायो । बलात्कारीलाई कार्बाही गर्नुपर्छ भन्दै आवाज एकपछि अर्को गदै बुलन्द हुदै गएको पनि छ भने आफु प्रधानमन्त्री भएकै बेलामा घटना भएको र संलग्न अपराधीलाई कारवाही चलाउँन निर्देशन दिएको स्मरण गर्दै पुजा बोहराको पत्रले डाँको छोडेर रुवाएको सामाजिक संजालमा पूर्ब प्रधानमन्त्री बाबुरराम भट्टराईले लेखेका छन् । पछिल्लो समयमा बलत्कारका घटना एकपछि अर्को गर्दै बढदै गएका छन् मानौ त्यसको फैक्ट्री नै छ सरह ।

आखिर किन यस्तो भएको छ त ? कानुन तथा न्यायमन्त्री नरहरि आचार्य ज्यू बर्तमान अबस्थामा झण्डै बिस हजारको हाराहारीमा मुद्दा बोकेर सर्बोच्च अदालत अलमलको अबस्थामा छ । राजनीतिक अन्योलले सिर्जना गरेको डामाडोल एंव भद्रगोलको अबस्थाले बैधानीक कानुन तथा न्यायप्रणालीमा सुधार होईन सोझै प्रतिकुल असर परीरहेका छन् । सामाजिक संजाल फेसबुकमा लेखेबापत अब्दुल रह्मान थुनामा पर्दछन् । नेपाली कांग्रेस निकट तरुणदल चितवनका अध्यक्ष शिव पौडेल बिभिन्न अपराधको कारणले जेलमा परे उनको त्यही जेलभित्र हत्या हुँन पुग्यो जसको छानवीनको लागि आयोग बन्यो । प्रहरीको फरार सुचीमा रहेका दिनेश अधिकारी प्रहरीको जवाफी कार्बाहीमा मारिदा सदनमा चर्को रुपले बहश सिर्जना गरायो ।

एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनालको झापड प्रकरण अनुसन्धान गर्न छानबिन समिति बन्यो । मैना सुनुवार हत्या काण्डका आरोपी अहिले कहाँ छन् ? पुजा बोहरा काण्डलाई किन कमजोर बनाईयो ? हुन त यहाँ धेरैका धेरै काण्ड गुमनाम तरिकाले उल्टाईएका होलान तिनको लेखाजोखा कसरी होला र ? पुजा बोहरा काण्डमा बैतडी जिल्ला अदालतले अपराधी ठहर गरेकालाई अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको मन्त्रिपरिषदको निर्णयबाट नियुक्त भएका पुनराबेदन अदालतका न्यायधिसद्वय नर बहादुर शाही र रमेश प्रसाद राजभण्डारीले किन फैसला उल्ट्याए ? राजनीतिक संगठनमा संलग्न र राजनीतिक दलका कार्यकता जसलाई न्यायको बारेमा थाहा हुँदैन किन तिनीहरुलाई न्यायक्षेत्रमा नियुक्त गरिन्छ ? केन्द्रिय बिधि–बिज्ञान प्रयोगशालाको रिर्पोटमा पीडितले घटनाका बेलामा लगाएका कपडाहरु मध्ये कट्टुमा मानव शुक्रकिटको साथै रौहरु भेट्टिएको लेखिएको छ तर प्रमाणलाई मजबुत तुल्याउँन किन डिएनए परिक्षण गरिएन ? आखिर चलखेल यहापनि छ ।

पुजा बोहराको पत्र पढेपछि जवाफ फर्काउँदै लेख्नुभएको छ न्यायपरिषदका अध्यक्ष सम्माननिय प्रधानन्यायधिस समक्ष यथार्थ छानबिन गर्न पत्र लेखेको र न्यायप्रदान गर्न सरकार र आफनो तर्फबाट सबै प्रयत्न गर्ने भनि तपाईले गर्नुभएको प्रतिबद्धता सराहनिय छ । कार्यान्वयन भने हेर्न बाँकी रह्र्यो । देशमा चारवटीसम्म बिबाह गरेका ब्यक्तिलाई न्यायधिसमा नियुक्त गरिन्छ । अब यिनीहरुका टेबलमा पुग्ने बहुबिबाहका फैसला कसरी न्यायोचित हुन्छन् भन्ने ? तत्कालीन समयमा पुनराबेदन अदालतमा नियुक्त भएका दशजना न्यायधिस शपथग्रहण पश्चात एमाले मुख्यालय बल्खुमा धन्यबाद ज्ञापन गर्न जान्छन्, आखिर न्यायलयमा राजनीति किन ? आखिर उनीहरुलाई न्यायसम्पादनको आधारमा होईन राजनीतिक दलको शिफारिसमा नियुक्त गरिएको त रहेछ । न्यायकी देबिले कानुनी शासनको तीन प्रतिक सजिएको ईश्वरको रुपमा न्यायको प्रतिनिधित्व गर्दछ । जसमध्ये तरबारले अदालतको बाध्यकारी शक्तिको प्रतिकता दिन्छ ।

तराजुले प्रतिस्पर्धी दाबीहरुको नापजोखको प्रतिनिधित्व गर्दछ भने आँखाको छोपाईले निष्पक्षतालाई संकेत गर्दछ तर खोई हाम्रो न्याय ? राजनीतिकदलहरुले न्यायपालीकालाई किन सधै भागबण्डामा पार्ने ? यसरी सर्सती हेर्ने हो भने मन्त्री ज्यू देशमा पुजा बोहराहरु बलात्कृत हुँनुमा दोषी अरु कोही होईनौ तपाई हामी नै हौ । आफनो फाईदाकोलागि हामी न्यायलयको उपयोग गरिरहेका हुन्छौ । जब हामी सत्तामा पुग्छौ आफु र आफनो दललाई फाईदा हेछौ ।

जसले गर्दा हामी हाम्रै अस्तित्वलाई जोगाउँन सत्तैनौ । बैरीसँग कहिल्यै नझुक्ने नेपालीको शिर आज किन झुकीरहेको छ । सगरमाथाको शिर जसले बिश्वलाई चिनाउँछ उ लाजले आजभोली पक्कै रातोपिरो भएको होला ? आखिर आज पुजा बोहरालाई न्यायदिन्छु भनेर गरिएको प्रतिबद्धता मन्त्रिज्यू ओठेप्रतिबद्धतामा मात्र सिमित नहोस् ब्यबहारमा लागुहोस् जसले गर्दा भोली अरु पुजा बोहराको नारी अस्तित्व बचिरहोस् ।

– ratopati