लिगामा स्वारेसको पहिलो गोल,बार्सिलोनाको सहज जित


काठमाडौं/ लुइस स्वारेसले स्पेनिस ला लिगामा पहिलो गोल गर्दा बार्सिलोनाले कोर्डोबामाथि सहज जित हात पारेको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले स्वरेजसँगै लिओनल मेस्सीको दुई गोलको मदतमा कोर्डोबामाथि ५–० को जित हात पारेको हो ।
जितसँगै बार्सिलोनाले लिग लिडर रियल मड्रिडसँगको अंक दुरी १ मा झारेको छ । यद्यपि रियल मड्रिडले एक खेल कम खेलेको छ । रियल मड्रिडको १६ खेलबाट ३९ अंक छ भने १७ खेल खेलेको बार्सिलोनाको ३८ अंक भएको छ ।
घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले ७२ सेकेण्डमा नै पेड्रोको गोलबाट अग्रता लिएको थियो । बाँकी चार गोल भने दोस्रो हाफमा भएको थियो ।

५१ औं मिनेटमा स्वरेजले गोल गर्दै ला लिगामा पहिलो गोल दर्ता गरे । ८० औं मिनेटमा जेरार्ड पीकेले गोल गर्दै बार्सिलोनालाई ३–० को अग्रता दिलाए ।
खेलको ८२ औं मिनेटमा मेस्सीले गोल गरे । खेल सकिन केही मिनेट बाँकी छँदा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ५–० को जित दिलाए ।

-onlinekhbar