सरकारी कार्यालयमा १२ घण्टे सेवा, पहिलो दिन सेवाग्राही कम


-भरत कोइराला
पोखरा,/ सेवाग्राहीको अत्यधिक चाप हुने सरकारी कार्यालयमा बिहान ६ बजेबाट काम सुरु भए पनि पहिलो दिन बिहानी शत्रमा सेवाग्राहीको चाप निकै कम रह्यो । जिल्ला मालपोत कायालय कास्कीमा पहिलो सेवाग्राही साढे ६ बजे आएको र बिहानी शत्रमा १९ वटा लिखत रजिस्टेशन पास भएका छन् । मालपोत अधिकृत केशव भट्टराइका अनसार, सोमबारको बाँकी समेत गरी ३५ वटा लालपूर्जा प्रदान गरिएको छ । बिहान साढे छ बजे जग्गाको नामसारी गरिदिन मालपोत आएका छिनेडाँडाका गणेशबहादुर खड्काले बिहानै सरकारी कार्यालय खुलेपछि निकै सजिलो भएको बताए । जग्गा बेच्ने खड्का र किन्ने माया कार्की मालपोतका पहिलो सेवाग्राही हुन् । नापी कार्यालयमा एउटा लिखतको र एउटा बण्डापत्र गरी दुईवटाको कित्ता काट भएको नापी अधिकृत रामकुमार बस्नेतले बताए ।

नापीमा काम लिएर मंगलबार बिहान सबैभन्दा पहिला पोखरा ५ की रेखा पौडेल पुगेकी थिइन् । यसैगरी यातायात व्यवस्था कार्यालय गण्डकी(सवारी) बाट बिहानी शत्रमा १५ जनाले सेवा लिएका छन् । गोरखा घर भई पोखरा बस्दै आएका गोपाल न्यौपाने यातायातको पहिलो सेवाग्राही बने । यातायात व्यवस्था कार्यालय गण्डकी(लाइसेन्स) बाट बिहान २५ जनाले लाइसेन्स नविकरण गरेको कार्यालय प्रमुख लक्ष्मणबहादुर थापाले बताए ।