बाबुआमा दुवैले छाडेकी सर्मीला, न्याय खोज्दै अदालतमा


जाजरकोट,/ त्रिभुवन उच्च माध्यामिक विद्यालय खलङ्गाको कक्षा ६ मा पढ्ने सर्मीला घरको कुरा उठ्नेवित्तिकै बारम्बार आँसु झारेर रुन थाल्छिन् ।जन्मदिने बाबाको टुङ्गो पनि नलागेको र आमा अमला परियारले पनि अर्कैसँग विवाह गरेर गएपछि सर्मीला बिचल्लीमा परेकी छिन् ।

जन्म हँुदादेखि नै बाबाका बारेमा कुनै पत्तो नपाएकी सर्मीला तीन वर्षको उमेरमै आमा अमलाले अर्कैसँग विवाह गरेर गएपछि विचल्लीमा परेकी हुन् । तेह्र वर्षअघि आमा अमलाले छोरी सर्मीलालाई छोडेर अकैसँग विवाह गरेपछि मावली घरमा उनी बस्दै आएकी छिन् । उमेर बढ्दै जाँदा उनी थाहा पाउने भइन अनि बाबाको खोजी गर्न थालिन् । पैंक–६ कफल्लाकी १६ वर्षीया सर्मीलालाई अहिले न घरमा बसेर सुख छ न विद्यालयमा पढेर सुख छ ।

खुट्टाको अपाङ्ग रहेकी उनलाई पाल्ने पढाउने र अन्य सहयोग गर्ने कोही पनि नभएपछि ठूलो सङ्कट आइलागेको छ । सर्मीलाले बुबा भनेर दाबी गरेका नरबहादुर रोकाय र आमा अमला परियारको अवैध सम्बन्धबाट उनको जन्म भएको भनिए पनि नरबहादुरले उनीसँगको नाता नस्वीकारेपछि उनी विचल्लीमा परेकी हुन् ।

बुबाले आफूसँगको नाता नस्वीकारेपछि सर्मीलाले जिल्ला अदालत जाजरकोटमा नाता कायम गराइ पाउभनी मुद्दा दिएकी छिन् । महिला तथा बालबालिका कार्यालय जाजरकोटका बालकल्याण अधिकृत डम्बरबहादुर रोकायले सर्मीलालाई न्याय दिलाउनका लागि आफूहरुले विभिन्न निकायमा सहयोगका लागि पत्राचार गरेको बताउनुभयो । उनको पढाइ खर्चका लागि रु छ हजारसमेत सहयोग गरेको अधिकृत रोकायले बताउनुभयो ।

उनकी आमा गर्भवती भएकै बेला द्वन्द्व कालमै उनले बाबा भनेर दाबी गरेका नरबहादुर भागेर भारततिर लागेपछि सर्मीला मावली घरमै जन्मिएकी थिइन् । द्वन्द्वकाल सकिएपछि उनका बुबा गाउँ फर्किए तर उनलाई नरबहादुरले कहिले पनि हेरेनन् । आमाले अर्कैसँग विवाह गरेपछि उनी ठूलो सङ्कटमा परिन् । एकातिर आमाबाबाको अभाव अर्काेतर्फ खुट्टा अपाङ्ग भएका समस्याले उनी रोएरै विद्यालय आउने र घरमा पनि रोएरै बस्ने गरेको बताउँछिन् ।

मैले पढ्छु भने पनि कसले पढाइदिन्छ र ? रुँदै उनले राससलाई भनिन् । आमाले माया त गर्छिन् तर कान्छो बुबाले थाहा पाए मार्छन्, उनले दुखेसो गरिन् ।अदालतमा आफ्नोतर्फबाट साक्षी बसिदिनेसमेत कोही पनि नभएपछि झन समस्या परेको सर्मीलाले बताइन् । बुबाकातर्फबाट बोलिदिने मान्छे आए तर मेरा लागि बोलिदिने कोही भएन, सर्मीलाले भनिन् ।

सँगै बसिरहेका मामालेसमेत मेरो साक्षी बस्न मान्नु भएन अब कसलाइ भन्न जाँउ ? सर्मीलाले भनिन् ।खलङ्गा–३ बाहुनवडामा मामा नविन्द्र परियारसँग बस्दै आएकी उनलाई मामा माइजुले पनि पढ्न हुँदैन भनेर हप्काउने गरेको पीडित सर्मीलाले बताइन् । पढाइ खर्चका लागि सहयोग माग्न महिला तथा बालबालिका कार्यालयमा पुगेकी उनलाई कार्यालयले छ हजार सहयोग गरेको तर मामा नविन्द्रले एक सेट किताब किनेर अरु सबै पैसा लगिदिएको सर्मीलाले बताइन् ।

उनलाई बुबासँग नाता कायम गराउने काममा कानुनी सहायता दिइरहेका अधिवक्ता सहदेवजङ्ग शाहले सर्मीलाको बाबासँग नाता कायम भएपछि मात्र उनको भविष्यको सुरक्षा हुने बताउनुभयो ।
पढाइको कुरामात्र नभएर उनको लालनपालन र सामाजिक सुरक्षाका लागिसमेत जुनसुकै सम्बन्धबाट जन्मिएको भए पनि बाबु छोरीको नाता कायम भएरै छोड्ने उहाँले उल्लेख गर्नुभयो । रासस