विप्लव माओवादीको मुख्य दुश्मन कांग्रेस


काठमाडौ/ नेकपा माओवादीका संयोजक नेत्रबिक्रम चन्दले राष्ट्रिय स्वाधिनता, जनजीविका र जनताको अधिकार रक्षाका लागि बलिदान दिन पार्टी गठन गरेको बताएका छन् । मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीबाट छुट्टएिर तीन दिन अगाडि नयाँ पार्टी गठन गरेका चन्दले माओवादी नेताहरु निजी स्वार्थमा फसेकाले नयाँ शक्ति बनाउनु परेको बताए ।

राजधानीमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी चन्दले आफ्नो संघर्षमा राज्यले देखाउने व्यवहार अनुसारको प्रतिवाद गरिने जनाए । उनले सरकारको रवैया अनुसार आवश्यक परे जनसेना, जनसरकार गठन गरिने चेतावनी दिए । ‘जनयुद्धको सयमा प्रचण्डले जनता समक्ष गरेको प्रतिवद्धतामा धोका गर्यो,’ उनले भने-‘१० हजार जनताको बलिदानी खेर गएको छ । यसको जवाफ प्रचण्ड र मोहन बैद्यले दिनुपर्छ ।’ एमाओवादी अध्यक्ष पुष्पकमल दाहालप्रति इंगित गर्दै उनले नेताहरु भ्रष्टजीवन व्यतित गर्न थालेको आरोप लगाए । ‘एमाले र कांग्रेसले उनीहरुलाई निजी स्वार्थ र भ्रष्ट जीवन शैलीमा फसायो,’ उनले भने ।

विप्लव माओवादीको मुख्य दुश्मन कांग्रेस

नेकपा-माओवादीबाट छुटि्टको नेक्रविक्रम चन्दको समूहले गठन गरेको नेकपा माओवादीले आफ्नो मुख्य दुश्मन नेपाली कांग्रेसलाई मान्ने भएको छ । पार्टी गठनबारे जानकारी दिन राजधानीमा भइरहेको पत्रकार सम्मेलनमा सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले तत्कालको लागि मुख्य दुश्मन नेपाली कांग्रेसलाई मान्ने बताए ।

साता अघि भएको नेकपा-माओवादीको विस्तारित केन्दि्रय समितिको बैठक बहिष्कार गरेर चितवनमा भेला गरेको चन्द समूहले नयाँ पार्टीको घोषणा गरेको थियो ।

बास्तोला नेकपा-माओवादीका पोलिटव्यूरो सदस्य थिए । उनी चन्द नेतृत्वको नवगठित पार्टीको ७ सचिवालय सदस्यमध्ये एक हुन् ।

पार्टीले पुस २३, २४ र २५ गते प्रथम राष्ट्रिय सम्मेलन गर्ने भएको पार्टी नेता चन्दले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।-ekantipur