पोखरामा जारी मेलाको अन्त्यतिर दर्शकको घुइँचो


-विजय नेपाल

पोखरा /पोखरामा जारी राष्ट्रिय औद्योगिक ब्यापार मेला उत्तरार्धतर्फ आइपुग्दा कारोबारमा बृद्धि भएको छ भने दर्शक संख्या बढ्दो छ ।

पोखरा उद्योग बाणिज्य संघले आयोजनामा पोखराको नयाँबजारमा गत मंसिर ४ देखि सुरु मेलाको नवौ दिन शुक्रबारमात्र मेलाको अवलोकन गर्न ५० हजार दर्शक आएको आयोजकको दावी छ । मेलामा सो दिन २ करोडभन्दा बढीको कारोवार भएको जनाइएको छ । पोखरा उद्योग बाणिज्य संघका महासचिव रविन्द्रबहादुर प्रजुले शुक्रबार शैक्षिक संस्थासमेत बन्द रहेको हुँदा विद्यार्थीहरुको घुइँचो रहेको बताए । उनले मेला सकिन २ दिनमात्र बाँकी रहँदा आयोजकको अपेक्षाअनुसार दर्शक आएको बताए ।

मेलामा हालसम्म १४ करोड ८७ लाखको कारोवार भएको छ भने २ लाख २३ हजारले मेलाको अवलोकन गरेको संघले जनाएको छ । मेलामा सांगीतिक कार्यक्रम, औद्योगिक तथा व्यापारिक, हस्तकला, कृषि, पूष्प, अटो, सूचना तथा प्रविधिहरु, विभिन्न सरकारी तथा गैह्र सरकारी संघसंस्थाहरुको गतिविधिको प्रदर्शनी, स्थानीय कला र सस्कृति झल्कने स्टललगायत दैनिक उपभोग्य वस्तु, घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानसहितकास्टलमा दर्शकको आकर्षण छ ।