पोखरेली संगीतकर्मीहरूमा विदेश मोह बढ्दै


-राजाराम पौडेल

नेपाली साँगीतिक क्षेत्रमा आफ्नो पृथक पहिचान बनाउन सफल पोखरेली संगीतकर्मीहरुले यस क्षेत्रमा निरन्तरता दिन नसक्दा पोखराको साँगीतिक माहोल घटेको छ । एक समय थियो, जुनबेला गीत–संगीतको क्षेत्रमा लाग्नेलाई निकै अप्ठ्यारो हुने गर्दथ्यो घर–परिवारबाट सहयोग नहुने, गीत रेकर्डिङ र यस क्षेत्रमा संघर्ष गर्नको लागि राजधानीमै जानुपर्ने बाध्यता, संगीतको ज्ञान हासिल गर्ने ठाउँको अभाव लगायतका समस्याले गर्दा थुर्पै प्रतिभावान कलाकार प्रतिभा तथा ईच्छा भएर समेत साँगीतिक यात्रा तय गर्न सकेका थिएनन् ।

तर अचेल समय फेरिएको छ । संगीत क्षेत्रमा अगाडि बढ्नका निमित्त सहज छ । सिक्नको लागि थुर्पै ठाउँ स्थापना भैसकेका छन् साथमा संगीत विषयमा अध्ययन समेत गर्न सक्ने व्यवस्था अहिले छ । स्कूल तथा कलेजमा समेत यस विषयमा ज्ञान दिइरहेको अवस्था छ । तर यति हुदाँहुँदै पनि साँगीतिक क्षेत्रमा लागेर जीवन धान्न सक्ने स्थितिको सिर्जना हुन भने सकेका छैन । हुनत यति हँुदाहँुदै पनि नेपाली गीत संगीतको क्षेत्रमा प्रवेश गर्न चाहनेहरु नवप्रतिभाको संख्यामा बृद्धि नभएको भने होइन । कति शोखको रुपमा त कति लहैलहैमा अनि कति यसै क्षेत्रमा अगाडि बढ्ने लक्ष्यका साथ यस क्षेत्रमा प्रवेश गरिरहेका छन् । यस क्षेत्रमा आउनेक्रम नरोकिएपनि यस क्षेत्रमा लागेर जीविकोपार्जन गर्न भने निकै मुस्किल भएको संगीतकर्मीहरु बताउँछन् । यसरी साँगीतिक क्षेत्रमा भविष्य नदेखेर नेपाली सांगीतिक फाँटमा एकताका एकछत्र राज गर्न सफल बनिसकेका कयौ पोखरेली संगीतकर्मीहरु विदेश पलायन भइसकेका छन् ।यसरी विदेश पलायन हुने मध्येका एक हुन् कर्णप्रिय स्वरका धनी पोखरेली गायक कर्णदास ।

995076_792716220792921_3746498552574367875_n

 

 

मध्यान्न व्याण्डबाट साँगीतिक यात्राको थालनी गरी सोलो गायकको रुपमा स्थापीत बनेर उनी विदेशिए । श्रोता दर्शकको अथाह माया पाउँदा पाउँदै एक्कासी सांगीतिक क्षेत्र चटक्कै छाडेर कर्णदास अमेरिका हानिएका विदेशिएको आठवर्ष पुगेको छ । २०५३ सालमा ‘जिन्दगीको के भरोसा’ बोलको गीतबाट डेब्यू गरेका कर्णदासले सोही वर्ष ‘मध्यान्न–१’ नामक एल्बम श्रोतामाझ पस्किएका थिए । त्यसपछि उनका ‘मध्यान्न–२’ ‘बेर्थै फेरी’, ‘मध्यान्न–३’, ‘पुरानो डुङ्गा’, प्रीति’ लगायतका एल्बम सफल रहे । उनले थुपै्र कलेक्सन एल्बम तथा नेपाली चलचित्रका गीतमा आवाज भरे । उनको आवाजलाई श्रोता दर्शकले राम्रो साथ दिएपनि पलायनलाई रोक्न त्यो प्रयाप्त भने भएन । साँगीतिक क्षेत्रमा भविष्य नदेखेर विदेशिएको उनी बताउँछन् । त्यस्तै कन्दरा समूहका मुख्य भोकलीष्ट विवेक श्रेष्ठ दर्शक श्रोताको अथाह माया पाउँदा–पाउँदै विदेशिए ।

hqdefault

उनको आवाजमा रहेका कन्दरा समूहका ‘चञ्चले कान्छी’, ‘डाँडापारी’, ‘हङकङ पोखरा’, ‘वर्षौपछि’ एल्बमका गीत अझैसम्म श्रोता दर्शकले उत्तिकै मन पराइरहेका छन् । ‘म नेपाली’, ‘म मरे पनि मलाई यो देशको माया छ’ लगायतका राष्ट्रभावले ओतप्रोत गीत गाउने समूह बफिन्स–९८ का मुख्य भोकलिष्ट सञ्जिव गुरुङ्गलाई दर्शक श्रोताको मायाले मात्र पुगेन । हुनत उनको एल्बम पहिचानका गीत सदावहार रुपमा चर्चीत छन् । बस सुन्दरी ठण्डी महिना जाडो छ लगायतका गीतबाट चर्चामा आएका ब्रोसीस समुहका गायक दिपु गुरुङ्ग साँगीतिक क्षेत्रमा भविष्य नदेखेरै विदेशिए । ‘छेक्यो छेक्यो देउराली डाडाँ’, ‘जोमसोमे बजारमा’ लगायतका गीतले सबैमाझ परिचय बनाएपनि नेपथ्य समुहका रविन श्रेष्ठ विदेशिए । हुनत अमृत गुरुङ्गले यो समूहलाई निरन्तर साँगीतिक फाँटमा क्रियाशिल गराएका छन् । ‘के दोष थियो र मेरो’, ‘सायद तिमीले विश्वास गरीनौ’, ‘घरको चिनारी’ लगायतका गीतका गायक उज्वल भण्डारी गएको वर्ष मात्र विदेशतिर लागे । आँखाभरी आशु किनका गायक जबिक पहिलो एल्बम जिरोकिमि दर्शक श्रोता माझ पस्कँदै विदेशिए । ‘बरबाद भए’, ‘कसैलाई हसाउने’ गीतका गायक सिडि विजय अधिकारी, ‘७१ ग्राम्स्’ एल्बमका आजाद ढुङ्गाना, युवराज तिवारी, क्या राम्रो बोलको गीतकी गायीका ज्योती गुरुङ्ग साँगीतिक क्षेत्रमा भविष्य नदेखेरै पलायन भए ।

सांगीतिक भविष्य राम्रो नदेखेर यो क्षेत्रबाट टाढिएका संगीतकर्मीमा द एजका लिड गितारिष्ट सोम गुरुङ्ग, ग्रिस व्याण्डका गितारिष्ट कुमार गुरुङ्ग, विथ इकको गीतारिष्ट दिपक भाटरा, डाइम्ज ग्लीटर्सका भोकलिस्ट दिप परियार, अल्जोमर्स का रिदम गितारिष्ट विकी गुरुङ्ग, अल्टा भाइरसको भोकलिष्ट मनोज गुरुङ्ग, ड्रमर प्रदिव देवकोटा, मोक्ष व्याण्डका ह्रदम गीतारिष्ट सन्तोष भण्डारी, लिड गीतारिष्ट समुद्र सुनार, अनिल राना, क्याडेन्जका भोकलिष्ट विनोद वि.क., स्टान्जा व्याण्डका भोकलिष्ट रवि क्षेत्री, स्मार्ट वेन क्रेजिको भोकलिष्ट सागर गुरुङ्ग, उमेश गुरुङ्ग, लेकालीका नविन गुरुङ्ग, सचिन गुरुङ्ग, कन्दराका विजय गुरुङ्ग, डिमोर्चाका विरेन पुन, रोसन गिरी, एकेन्द्र बन्जरा भ्यागावोनका रमेश गुरुङ्ग, राजु गुरुङ्ग, गणेश पुन नेपथ्यका भिम पुन, पिस ह्यान्कि व्याण्डका रविन पुन, द निजारका वेद गुरुङ्ग, विरेन ज्वारचन, दिपक थापा, ०६१ का अनुप श्रेष्ठ लगायतका रहेका छन् । दुःख गरेर लाखांै लगानी गरेर एल्बम निकाले पनि विक्री प्रायः ठप्प नै हुने गरेको कारण चाहेर पनि निरन्तरता दिन नसकेर विदेशिन वा यो क्षेत्रलाई चटक्कै छोडेर वैकल्पिक पेशा गर्न बाध्य भएका छन् । कति विदेशिएका संगीतकर्मी विदेशका फाट्टफुट्ट कार्यक्रममा तथा बेला–बेलामा नेपाल फर्कदै निरन्तरता दिन खोज्दैछन् भने कति पूर्ण रुपमा साँगीतिक क्षेत्रबाट टाढिएका छन् । यतिबेला फाट्टफुट्ट रुपमा केहि गायक तथा व्याण्डले केहि गीत रेर्कड गरेपनि नेपाली पप गीतको राजधानी शहर मानीएको पोखराको पप गीतको क्षेत्र पचासको दशक जस्तै सन्तोष मान्न सक्ने खालको भने हुन सकेको छैन । नेपाली साँगीतिक क्षेत्रमा लागेर जीवन धान्न सक्ने स्थितीको सिर्जना जबसम्म हँुदैन तबसम्म यो प्रक्रिया जारी रहने हुदाँ यसतर्फ सम्बन्धित निकायले बेलैमा ध्यान दिनु जरुरी छ