सार्क उद्घाटन समारोह समापन



काठमाडौँ/

१७ औं सार्कको अध्यक्षता गरेका माल्दिभ्सका राष्ट्रपति अब्दुल यमिनले प्रधानमन्त्री सुशील कोइरालालाई अध्यक्षता हस्तान्तरण गरेका हुन् । उद्घाटन सत्रमा सबै सार्क राष्ट्रका सरकार प्रमुख र पर्यवेक्षक राष्ट्रका टोली प्रमुखले मन्तव्य व्यक्त गरेका थिए । प्रधानमन्त्री कोइरालालाई उद्घाटन मन्तव्यका क्रममा सार्कलाई शक्तिशाली र अर्थपूर्ण बनाउनमा जोड दिए ।

मन्तव्यका क्रममा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले उनले १९ औं सार्क सम्मेलनमा इस्लामावादमा गर्ने भन्दै स्वागतको लागि तयार रहेको बताए । उनले सार्कलाई अर्थपूर्ण बनाउन चीनको सहभागिता आवश्यक रहेको बताए । उद्घाटन सत्रमा बोल्दै श्रीलंकाका राष्ट्रपति महिन्दा राजपाक्षले सार्कले यो क्षेत्रको गरिबी उन्मुलनमा काम गर्नुपर्ने बताए । अफगानीस्तानका राष्ट्रपति असरफ घानीले क्षेत्रिय विकासको लागि स्रोतको सदुपयोगमा जोड दिए । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले जलवायू परिवर्तन अहिलेको चुनौति भएको भन्दै यसको लागि एक हुनुपर्ने बताए ।

उनले क्षेत्रिय देशहरुसबीच सम्बन्ध बढाउन सडक सञ्जालको आवश्यकतामा जोड दिइन । मन्तव्यका क्रममा भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले गरिबीलगायत समाजिक समस्या समाधानको लागि अन्तरदेशीय रेल र सडक सञ्जालमा जोड दिनुपर्ने बताए । उनले ऊर्जाका लागि सबै सार्क राष्ट्रहरुले सहकार्य गर्नुपर्ने बताए । आतंकवाद जनताको शान्ति र सुरक्षाको लागि चुनौति भएको बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्षेत्रिय विकासको लागि आपसी सहकार्यमा जोड दिए । उनले सार्क राष्ट्रहरुबीच रहेको शंकालु प्रवृत्तिलाई अवसरमा बदल्नुपर्नेमा जोड दिए । उनले क्षेत्रिय व्यापार, लगानी, सहयोग, सम्पर्क र सञ्जालमा जोड दिनुपर्ने बताए ।

माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यमिनले क्षेत्रिय विकासको लागि व्यापारमा जोड दिए । उद्घाटन सत्रमा बोल्दे चीन, अमेरिका, यूरोपियन यूनियन, इरान, म्यानमारलगायत देशका पर्यवेक्षक टोली प्रमुखहरुले सार्कको उद्देश्य हासिल गर्नमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उद्घाटन सत्र समापनपछि सार्क राष्ट्रका सरकार प्रमुखहरु निवासस्थल सोल्टी होटलतर्फ गएका छन् ।