राजधानीको सुरक्षा व्यवस्था कडा,करिब २८ हजार सुरक्षाकर्मी परिचालन


काठमाडौ /
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८ औँं शिखर सम्मेलनमा भाग लिन आउने सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखको सुरक्षालाई दृष्टिगत गरी राजधानीको सुरक्षा व्यवस्थालाई अत्यन्तै कडा पारिएको छ ।
सरकारले सार्क सम्मेलनलाई ध्यानमा राखेर एकीकृत सुरक्षा प्रणाली लागू गरी करिब २८ हजार सुरक्षाकर्मी परिचालन गरेको छ । सो एकीकृत सुरक्षा योजनामा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई समेटिएको छ ।
सो सुरक्षा योजनामा हवाई गस्ती, सडक पेट्रोलिङलगायत सादा पोसाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ ।
चोकचोकमा सवारीसाधनसहित सुरक्षाकर्मी तैनाथ गरिएको छ । हेलिकोप्टरबाट समेत गस्ती सुरु गरिएको छ । विशिष्ट पाहुना आउने समयमा यातायातको चापलाई व्यवस्थित तुल्याउन राजधानीका विभिन्न स्थानमा सार्वजनिक सवारीसाधनका लागि अस्थायी रूपमा सवारी पार्किङको व्यवस्था गरिएको छ । जसले गर्दा चक्रपथभित्रको सवारी चापलाई व्यवस्थित बनाउन सजिलो हुने महानगरीय ट्राफिक महाशाखाको भनाइ रहेको छ ।
सरकारले शिखर सम्मेलनलाई दृष्टिगत गरेर सवारीसाधन सञ्चालनमा जोर बिजोर प्रणाली लागू गर्नुका साथै निजी तथा सरकारी साधन सञ्चालनका लागि विशेष पासको व्यवस्था गरेको छ । यो व्यवस्थाबाट सुरक्षा व्यवस्थामा सहयोग पुग्ने सरकारले विश्वास लिएको छ ।