गण्डकी धवलागिरीमा ८८ हजार करदाता,(को को छन् उत्कृष्ट)


पोखरा/

आन्तरिक राजस्व कार्यालय पोखराले तेस्रो राष्ट्रिय कर दिवस सप्ताहव्यापी रुपमा मनाएको छ । सप्ताहको अन्तिम दिन आइतबार कार्यालयय परिसरमा आयोजित कार्यक्रममा यो क्षेत्रका उत्कृष्ट करदाता घोषणा गरिएको छ । यो क्षेत्रको समस्टिगत रुपमा उत्कृष्ट करदातामा मेट्रो डेभलपमेन्ट बैंक, सांग्रिला भिलेज रिसोर्ट र फेवासिटी हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि परेका छन् ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले उत्कृष्ट करदाता घोषणा गरेका थिए । जिल्लागत रुपमा तनहुँबाट अकलादेवी ट्रेडर्सका महेन्द्रमोहन भट्टराई, लमजुङबाट कुश ट्रेडर्सका सुशीला कुमारी श्रेष्ठ, स्याङ्जाबाट कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकका संचालक चन्द्रबहादुर बस्नेत, गोरखाबाट हाम्रो पसल सेन्टरका शिवध्वज खत्रीलाई सम्मानित गरिने भएको छ । यसैगरी, बागलुङबाट प्रधान ब्रदर्शका कमलप्रसाद श्रेष्ठ, पर्वतबाट पर्वत आयल डिस्टिब्युटर्स र म्याग्दीबाट वेस्ट पोइन्ट एजुकेशन फाउण्डेसनका शिवकुमार श्रेष्ठलाई सम्मानित गरिने आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत जगदीश्वर उपाध्यायले बताए ।

क्षेत्रगत रुपमा शिक्षा क्षेत्रबाट मदरल्याण्ड उच्च माविका त्रिभुवन शर्मा, चिकित्सा क्षेत्रबाट डा आनन्दबहादुर श्रेष्ठ, संस्थाहरुमध्येबाट नेपाल हवाई खेलकुल संस्था सम्मानित हुने भएका छन् । यसैगरी कार्यालयका नायव सुब्बा हेमराज पोखरेल उत्कृष्ट कर्मचारी घोषित भएका छन् । उनीहरु सबैलाई आन्तरिक राजस्व विभागका महानिर्देशकको उपस्थितिमा सम्मान गरिने प्रमुख उपाध्यायले बताए ।

गत वर्ष जिल्लागत रुपमा तनहुँको सूर्य ब्लेण्डर्स प्रालि, लमजुङको प्यासिफिक डेभलपमेन्ट बैंक, स्याङ्जाको उपकार सहकारी, गोरखाको कलश आयल स्टोर्स। बागलुङको सुहाग ट्रेडर्स, पर्वतको लक्ष्यश्वर कन्स्ट्रक्सन र म्याग्दीको निलगिरी विकास बैंक लिमिटेड उत्कृष्ट करदाता घोषित भएका थिए ।
समापन कार्यक्रममा आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत जगदीश्वर उपाध्यायाले निजी क्षेत्रसंग सहकार्य गर्दै आफूहरु अघि बढ्ने बताए । उनले भने, हामीले पारदर्शी कर प्रणाली लागू गरेका छौं, करदातासँग सहकार्य गरेर अघि बढ्छौं।’

सप्ताहअन्तर्गत मंसिर १ गते आन्तरिक राजश्व कार्यालय पोखरा र पोखरा उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा वृहत ¥याली निकालिएको थियो । मंसिर ३ गते विभिन्न वस्तुगत संघसंस्था, पत्रकारहरु संग करदाता शिक्षा तथा अन्तक्रिया, ५ र ६ गते कर शिविर तथा घुम्ती सेवा संचालन गरिएको थियो । यसैबीच आन्तरिक राजश्व कार्यालय पोखराले चालु आर्थिक वर्षको चार महिनामा लक्ष्य भन्दा एक सय २७ प्रतिशत बढी कर संकलन गर्न सफल भएको छ । प्रमुख कर अधिकृत उपाध्यायका अनुसार, ७१ करोड लक्ष्य रहेकोमा ९१ करोड रुपैयाँ संकलन गर्न कार्यालय सफल भएको छ । यसमा आयकरको हिस्सा सबैभन्दा बढी अर्थात् ३६ करोड २१ लाख रुपैयाँ छ । त्यसपछि अन्तशुल्क ३० करोड ४३ लाख रुपैयाँ र मूल्य अभिवृद्धि कर २२ करोड ४० लाख रुपैयाँ उठेको छ ।

सरकारले आर्थिक ऐन २०७१ मा कर छुटको विशेष योजना ल्याएको र यसमा पनि उल्लेख्य सहभागिता रहेको उनले बताए । विशेष योजना अनुसार, फर्मलाई आव २०६७÷६८ यताको शुल्क र ब्याज नलाग्ने, दर्ता भए पनि आय विरणर नबुझाएकालाई पनि शुल्क र ब्याज मिनाह गर्ने प्रावधान राखिएको छ । मिसम्याचमा पनि विशेष योजना ल्याइएको उपाध्यायले बताए । आन्तरिक राजश्व कार्यालय पोखरामा हालसम्म व्यक्तिगत समेत गरी ८८ हजार करदाता पुगेका छन् । तीमध्ये व्यावसायिक संस्था ६३ हजार पाँच सय रहेकामा मूल्य अभिवृद्धि करमा मात्र आठ हजार चार सय करदाता आबद्ध भएका छन् । चालु आवको चार महिनामा मात्र स्थायी लेखा नम्बरमा दुई हजार तीन सय ३४ र मूल्य अभिवृद्धि करमा पाँच सय ६६ करदाता थपिएका छन् ।