सार्क शिखर सम्मेलनमा भाग लिन को – को कति बेला काठमाडौ आउदैछन् त ?


काठमाडौं /१८ औं सार्क शिखर सम्मेलनमा भाग लिन काठमाडौं आउने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ लगभग एउटै समयमा त्रिभुवन विमानस्थलमा ओर्लने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री मोदी सवार विमान मंगलबार दिउँसो ३ बजेदेखि साढे ३ बजेभित्र काठमाडौंमा अवतरण भइसक्ने छ । पाकिस्तानी प्रधानमन्त्री सरिफको टोली ३ बजेर ३५ मिनेटमा काठमाडौं ओर्लने छ । श्रीलंकाका राष्ट्रपति महिन्दा राजपाक्षे सबैभन्दा पहिले अर्थात् मंगलबार बिहान साढे ९ बजे काठमाडौं आइपुग्ने छन् ।
अफगानिस्तानका राष्ट्रपति असरफ घानीको टोली १० ः४५ मा काठमाडौं ओर्लने परराष्ट्र मन्त्रालयका प्रोटोकल प्रमुख एवं अतिथि सत्कार संयोजक कालीप्रसाद पोखरेलले जानकारी दिएका छन् ।
पोखरेलका अनुसार भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे पौने १२ बजे काठमाडौं आइपुग्ने छन् । मालदिभ्सका राष्ट्रपति यामिन अब्दु गैयुम १२ बजेर पाँच मिनेट जाँदा काठमाडौं आइपुग्ने छन् । सबैभन्दा ढीलो बंगलादेशकी प्रधानमन्त्री शेख हसिना मंगलबार बेलुका सवा ४ बजे काठमाडौं आइपुग्ने छिन् ।
सबै पाहुनाहरुलाई विमानस्थलबाट सम्मानका साथ सोल्टी होटलमा लगिनेछ ।
सार्क राष्ट्रप्रमुख एवं सरकार प्रमुखहरु बुधबार दिउँसो शिखर सम्मेलनको उदघाटनमा सहभागी हुनेछन् । साँझ प्रधानमन्त्री सुशील कोइरालाले आयोजना गर्ने रात्रीभोजमा सहभागी बन्नेछन् ।
विहीबार धुलीखेलमा केही घण्टा बिताएपछि काठमाडौं फर्केर सरकार प्रमुख एवं राष्ट्रप्रमुखहरु शिखर सम्मेलनको समापनमा सहभागी हुनेछन् ।
विहीबार साँझ राष्ट्रपति डा. रामवरण यादवले पाहुनाको सम्मानमा रात्रीभोज आयोजना गर्नेछन् । शुक्रबार सबै देशका पाहुनाहरु आ-आफ्नो देश र्फकने कार्यक्रम छ । यसक्रममा श्रीलंकाका राष्ट्रपतिले लुम्बिनी भ्रमण गर्ने कार्यक्रमसमेत रहेको छ ।