ट्राफिक प्रहरीको दुर्व्यवहारमा परेकी युवतीको बयान


 

सोमबार बेलुका हामी (म र साथी) न्युरोडबाट व्यक्तिगत काम सकेर बानेश्वर फर्कदै थियौं। राति आठ बजेतिर घट्टेकुलो चोकमा मापसे चेकिङ गरिरहेका प्रहरीले मेरो स्कुटी रोकेँ। मसँग लाइसेन्स र ब्लुबुक दुबै थियो। तर मेरो ब्लुबुक रिन्यु गरिएको थिएन। त्यहाँ भएको प्रहरीले मेरो ब्लुबुक र लाइसेन्स लिए।
मैले चिट काट्नु भन्दा मानेनन्। उल्टै घुम्न जाने प्रस्ताव गर्‍यो। उसले मलाई स्कुटी त्यही छोडेर ट्याक्सीमा घुम्न जाने र ट्याक्सीको पैसा आफै‌ले तिर्ने बतायो। मैले उसको प्रस्ताव मानिनँ। उसले घुम्न नजाने भए मेरो नम्बर टिप म तिमीलाई भोलि ल्याई दिन्छु भन्यो। उसले आफ्नो नाम सविन शर्मा बताएको थियो। उसले मलाई नम्बर दिएर यो नम्बरमा मिसकल गर्न भन्यो मैले डायल गरें। मोबाइलको घण्टी बज्यो पनि।
एक घण्टा हामीलाई रोकीसकेपछि उसले अब आफ्नो ड्युटी डिल्लीबजारको पिपलबोटमा परेको भन्दै स्कुटीमा त्यहाँसम्म पुर्‍याइदिन आग्रह गर्‍यो। मेरो ब्लुबुक र लाइसेन्स पनि त्यहाँको इन्स्पेक्टरले रोखेको र त्यही गएर दिने बतायो। मैले साथी छ भन्दा उसले साथीलाई पछि लिन आउँदा भइहाल्छ नि भन्दै स्कुटीमा बस्यो। अलि अगाडि पुगेपछि उसले मेरो संवेदनशील अंगमा हातले छोयो। दाइ के गर्नुभएको भन्दै मैले स्कुटी रोकेँ। म डरले कामिरहेकी थिएँ।
उसले एउटा गल्ली देखाउँदै यताबाट जाउँ भन्यो। एक मिनेट लामो किस गर्‍यौ भने तिम्रो कागजात फिर्ता गर्दिन्छु, भन्यो। एक मिनेट त हो नि भन्दै गल्लीतिर जान दबाब दिँदै थियो।
त्यतिबेला दुई जना केटाहरु नजिकै आए। मैले जबरजस्ती ती केटाहरुसँग बोलें। उसले मलाई छिटो जाउँ भन्दै थियो। मेरो स्कुटी अगाडि सडकमा अचानक दुई मोटर साइकल ठोक्किए। उ त्यतै ब्यस्त भयो। ५ मिनेट पछि उसले मेरो नाम लिदैँ यो मान्छे तिमी नै होइन। तिम्रो कागजात मसँग रहेछ भन्दै दियो।
मैले १०३ मा फोन गरेर आफूमाथि भएको दुर्व्यवहारबारे उजुरी गरेकी थिएँ। राती ९ बजेर २८ मिनेटमा उसले मलाई फोन गरेको थियो। मैले उठाइनँ।
अर्को मैले मेरो साथीलाई लिएर बग्गीखाना गएर लिखित निवेदन दियौं। एसपी बसन्त पन्तसँग पनि कुराकानी गर्‍यौं। उनले दुर्व्यवहार गर्ने प्रहरीको पहिचान भइसकको बताए। उसको वास्तविक नाम पुरुषोत्तम ढकाल रहेछ। उ असई रहेछ। पन्तले दुर्व्यवहार गर्ने प्रहरीलाई एक महिनासम्म निलम्बन गर्ने र त्यतिबेलासम्म छानबिनका आधारमा आरोप प्रमाणित भए जागिरबाट निकाल्ने बताएका छन।
भएको यही हो, तर बिहीबर नयाँ पत्रिका दैनिक र सोही समाचारलाई विभिन्न अनलाइन पत्रिकाले ढकाललाई उद्धृत गर्दै मैले कागजात नबोकेको, उनीसँग जिस्किएको र ह्याण्डसम भनेको जस्ता गलत कुरा लेखेकोमा मेरो आपत्ति छ। सामाजिक सञ्जालमा भइरहेका मेरो आचरण माथिका टीका टिप्पणीले म तनावमा छु।

(पीडित युवतीले सेतोपाटीसँग गरेको कुराकानीमा आधारित)