मोदीको लुम्बिनी र मुक्तिनाथको धार्मिक भ्रमण स्थगित


 

काठमाडौँ/- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर, लुम्बिनी र मुक्तिनाथका लागि तय भएको धार्मिक भ्रमण स्थगन भएको छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाल आउने क्रममा प्रधानमन्त्री मोदी धार्मिक भ्रमणका सिलसिलामा ती क्षेत्रमा जाने कार्यक्रम तय भएको थियो।

मोदीको प्रस्तावित भ्रमणको स्थगन नेपालको व्यवस्थापन र सुरक्षाको कारणले नभई सम्बन्धित मुलुकको अवस्था र कारणले भएको परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले  साँझ पत्रकारहरूलाई जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– “प्रधानमन्त्री मोदीले शिखर सम्मेलनमा मात्र भाग लिने कुरा छ, त्योभन्दा अर्काे गतिविधिमा उहाँ अहिले सरिक नहुने कुरा भएको छ।”

भ्रमण स्थगनको कुरालाई लिएर आआफ्नो ढङ्गले व्याख्या गरिए तापनि त्यो हाम्रो सुरक्षा व्यवस्थाको कारणले होइन, हाम्रा तर्फबाट शान्ति सुरक्षामा कुनै तलमाथि नपर्ने गरी बडो राम्रोसँग व्यवस्था मिलाएका छौँ भन्दै परराष्ट्रमन्त्री पाण्डेले लामो समयदेखि भारतीय प्रधानमन्त्री मोदी मुलुक बाहिर रहेको र भारतका दुई प्रान्तमा अहिले निर्वाचन भइरहेको हुँदा त्यहाँ जानुपर्ने भएकाले उहाँले शिखर सम्मेलनमा मात्र सहभागी हुने भन्ने भरखर सूचना प्राप्त भएको जानकारी दिनुभयो । उहाँ यही मङ्सिर ९ गते जनकपुर र मङ्सिर १२ गते मुक्तिनाथ जाने कार्यक्रम थियो । रासस