गोमा एयरले पोखरा–काठमाडौं उडान गर्ने


 

पोखरा /निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गोमा एयरले केहिदिनभित्रै पोखरा–काठमाडौं रुटमा हवाई उडान सुरु गर्ने भएको छ । एकमहिना अघि स्वदेश भिœयाएको जहाजबाट यो रुटमा उडान गर्ने कम्पनीले जनाएको छ । गोमा एयरका प्रबन्ध निर्देशक मनोज कार्कीले पोखरा–काठमाडौं रुटमा छिट्टै नै उडान सुरु गर्ने बताए । उनले उडान सुरु गर्ने दिन भने तोकेनन् । ‘पोखरा–काठमाडौं उडानका लागि तयारी भइरहेको छ । केहिदिभित्रै यो रुटमा उडान थाल्ने हो,’ उनले भने, ‘पर्यटकीय सिजन परेकाले पनि यतिबेला उडान थाल्दा राम्रो हुन्छ ।’ गोमाको १९ सिट क्षमताको यो जहाज एकमहिना अघि काठमाडौं आइपुगेको थियो ।

पर्यटकीय क्षेत्र भएकाले पनि पोखरामा उडान गर्न आफुहरुले तयारी गरिरहेको उनले बताए । ‘पोखराका लागि यात्रु अभाव नहोला । पर्यटकीय सहर भएकाले पनि पक्कै यात्रु हुनेछन् । हामीले बजारको अवस्था पनि बुझिरहेका छौं,’ उनले भने, ‘अरु प्रक्रिया अघि बढिरहेका छन् ।’ गोमाले पोखराको बजार अवस्था बुझ्ने भन्दै र केही टुर अपरेटर्सलाई लिएर आइतबार पोखरा आएको थियो । पोखराको सम्भावित बजार बुझ्नका लागि जहाज सहित टोली पोखरा आएको कार्कीले बताए ।

पोखरा–काठमाडौं पछि पोखरालाई आधार मानेर गोमाले पोखरा–जोमसोम र पोखरा–मनाङ रुटमा पनि उडान थाल्ने उनले बताए । आगामि फेब्रुअरीदेखि पोखरालाई आधार मानेर जोमसोम र मनाङमा उडान गर्ने उनले बताए । ‘जोमसोम र मनाङ पनि पर्यटकीय दृष्टिले उडान गर्न उपयुक्त गन्तव्य हुन् । आगामी फेबु्रअरीदेखि ती दुवै रुटमा उडान गर्ने योजना छ,’ उनले भने, ‘पोखरा–जोमसोम रुटमा अत्यधिक माग छ ।’ गोमाले एकमहिना अघि ‘एलइटि ४१० यूभिपी–ई २०’ मोडलको टर्बाेप्रप यो जहाज नेपाल भित्रयाएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट यो जहाजलाई ‘९ एन–एकेवाइ’ कलसाइन पाएको छ ।

चेक गणतन्त्रमा निर्मित यस्तै जहाजले एकवर्षअघि पोखरा–जोमसोम तथा काठमाडौं–लुक्ला रुटमा सफल परीक्षण उडान गरेको थियो । गोमाले हाल दुईवटा सिंगल इन्जिनयुक्त ‘सेस्ना ग्राण्ड काराभान’ जहाजबाट दुर्गम क्षेत्रमा यात्रु तथा कार्गाे ढुवानी गरिरहेको छ । पोखरा विमानस्थलका प्रमुख दीपक बरालले आइतबार गोमाको एक जहाज व्यवसायिक नभई केही पर्यटन व्यवसायीलाई लिएर पोखरा आएको बताए । गोमाको व्यवसायिक उडानको तयारी भइरहेको उनले बताए । ‘केहिदिनपछि पोखरा–काठमाडौं र केही समयपछि पोखरा–जोमसोम रुटमा उडान गर्ने जानकारी पाएका छौं,’ बरालले भने, ‘तर अहिलेसम्म उडान तालिका आईसकेको छैन ।’

पोखरालाई आधार बनाएर निजी हवाई कम्पनीले सेवा सुरु गर्नु सुखद रहेको पर्यटन व्यवसायीको भनाई छ । नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्टस (नाट्टा) पोखराका अध्यक्ष पोमनारायण श्रेष्ठले नयाँ कम्पनीले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए । ‘सिजनका बेला अझै पनि हवाई टिकट पाउन मुस्किल छ । पोखरा–जोमसोम रुटमा यो समस्या झनै बढि छ,’ उनले भने, ‘त्यसैले जहाजले उडान सुरु गर्नु पोखराको पर्यटनका लागि खुसीको कुरा हो ।’