सार्वजानिक विदामा पारिश्रमिक नपाए काम गर्दैनौं ः चिकित्सक


पोखरा/नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष अञ्जनीकुमार झाले सार्वजानिक विदामा अस्पतालमा विना पारिश्रमिक काम गर्न नसक्ने बताएका छन् । नेपाल चिकित्सक संघ गण्डकी शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष झाले जनसंख्या तथा स्वास्थ्य मन्त्री खगराज अधिकारीले सार्वजानिक विदाको दिन काम गर्न दिएको निर्देशन पालना नगर्न संघमा आवद्ध चिकित्सकहरुलाई आब्हान गरेका छन् ।

‘सरकारले सार्वजानिक बिदाको दिनको पारिश्रमिक दिए मात्रै काम गर्नेछौं ।’ उनले भने ‘बिना पारिश्रमिक बिदाको दिनमा काम गर्न कसले काम गर्न सक्छ । त्यस्तो बाध्यकारी नियम मन्त्रीले निर्देशन दिएर मात्रै हुदैंन ।’ मन्त्रीले काम गर्न मात्रै निर्देशन दिएर हुदैंन कामको उचित मुल्याङकन गरेर पारिश्रमिक दिए काम गर्ने उनले बताए । ‘सरकारले चिकित्सकको दरबन्दी नबढाउने तर चिकित्सकले सेवा मात्रै दिएनन् भनेर हल्ला मच्चाएर हुदैंन ।’ अध्यक्ष झाले भने,‘नेपालको जनसंख्या अनुसार चिकित्सकको व्यवस्था गरे जनताले अपेक्षा गरेअनुसार सेवा दिन तयार छौं ।’

नेपालमा हाल सरकारी अस्पतालमा ९ सय ९० जनाको चिकित्सकको दरबन्दी रहेको बताए । हालै स्वास्थ्य मन्त्रालयले ३ सय ३० चिकित्सकको दरबन्दी थपेको छ । तर अहिले नेपालको ३ करोड जनता अनुरुप २३ हजार चिकित्सकको आश्यकता रहेको बताए । ‘राजधानी केन्द्रीत अस्पतालको पुर्वाधार तथा अस्पताल बनाउने अनि चिकित्सक ग्रमिण क्षेत्र गएनन् भनेर दोष लगाउन मिल्दैन् ।’ अध्यक्ष झाले भने, ‘ग्रामिण क्षेत्रमा सुविधासम्पन्न अस्पतालको पुर्वाधार जुनसुकै जिल्लामा सेवा दिन तयार छौं ।’