पोखरामा मंसिर ४ देखि १४ गतेसम्म राष्ट्रिय औद्योगिक व्यापार मेला हुने, तयारी तिब्र


 

पोखरा/पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्ने ‘राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तिब्र पारेको छ । मंसिर ४ गतेदेखि १४ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सञ्चालन हुने महोत्सवमा विभिन्न २ सय ९५ स्टल रहने संघका अध्यक्ष मेला मूल आयोजक समितिका संयोजक विन्दुकुमार थापाले जानकारी दिए । डोममा ७८, रेष्टुरेष्टका १५, अटोका ४७, पोखराका उत्पादन, पर्यटन, कृषि तथा हस्तकलामा ३६, प्mलोरिकल्चरमा ७, गार्मेण्टका २० र बाँकी १ सय ९२ साधारण स्टल रहने थापाले बताए ।

मेलाको ३ लाखदर्शकहरुले अवलोकन गर्ने आयोजकको दावी छ । ‘७० प्रतिशत स्टलहरु बुकिङ भइसकेका छन्,’ थापाले भने । मेलामा औद्योगिक, कृषि जन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरण गरिने थापाले बताए । ‘लगानीको सम्वद्र्धन ः उद्योग ब्यवसायको प्रवद्र्धन’ नाराका साथ आयोजित मेलाबाट पश्चिमाञ्चल क्षेत्रमा ब्यवसाय बिस्तारको सम्भावनाको खोजी गरिने थापाको दावी छ ।

महोत्सवमा ‘ख्याति प्राप्त कलाकारहरुको लोकदोहोरी गीत, चर्चित व्याण्डहरुको लाइभ साँगीतिक कार्यक्रम, लोकनृत्य प्रतियोगिता, हाँस्य प्रहसन, शारीरिक सुगठन प्रतियोगिता, फेसन सो पनि मेलाको आकर्षण बन्ने हाम्रो विश्वास छ,’ थापाले भने, ‘प्रवेश टिकटमा दैनिक रुपले पुरस्कारको व्यवस्था, उत्कृष्ट स्टललाई पुरस्कार, चमेना गृहको व्यवस्था, बाल उद्यान तथा मनोरञ्जनात्मक कार्यक्रम पनि मेलामा समावेश गरिएको छ ।’

महोत्सवको माध्यमबाट यहाँको कला संस्कृतिको उत्थानका साथै स्थानीय उत्पादनहरुको बजार पहिचान गरी आयात प्रतिस्थापनमा ठोस् योगदान पुग्ने आयोजकको विश्वास छ । त्यसैगरी मेलामा पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पसका विद्यार्थीले तयार पारेको यन्त्रमानवको प्रदर्शनीसमेत गरिने भएको छ । पोखरामा बन्न लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको नमूना, फेवाताल, विन्ध्यवासिनी तथा बिश्वशान्ति स्तूपाको नमूना पनि मेलाको आकर्षण बन्ने संघका महासचिव तथा मेलाका प्रचारप्रसार संयोजक रवीन्द्रबहादुर प्रजुले बताए ।

मेलाबाट ९५ लाख रुपैयाँ आम्दानी गर्ने आयोजकको लक्ष्य छ । ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको मेलाबाट २५ लाख रुपैयाँ बचत गर्ने लक्ष्य छ । मेलाबाट बचत हुने रकम पोखरामा निर्माण हुन लागेको पोखरा प्रदर्शनी केन्द्रको पूर्वाधार निर्माणमा विशेष प्राथमिकता प्रदान गरी खर्च गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । मेलाको प्रवेश गर्नका लागि विद्यार्थीलाई ३५ रुपैयाँ र सर्वसाधारण्का लागि ५० रुपैयाँ कायम गरिएको छ । टिकट बिक्रीबाट प्राप्त रकममध्ये दमकल खरीदका लागि प्रतिटिकट २ रुपैयाँ, बालश्रम न्यूनीकरण कार्यक्रमका लागि १ रुपैयाँ, समग्र पोखराको विकासका लागि २ रुपैयाँ छुट्याइने छ ।