चर्चित निर्देशक आलोक नेम्वाङद्धारा आत्महत्या


काठमाडौ/
नेपाली चलचित्र क्षेत्रका चर्चित निर्देशक आलोक नेम्वाङले आफ्नै अपार्टमेन्टमा आत्महत्या गरेका छन् । बिहिबार बेलुकी ८ बजे आफ्नै अपार्टमेन्टको तल्लो फ्लोरमा उनले झुण्डिएर आत्महत्या गरेका हुन् ।
भर्याङमा झुण्डिएको अवस्थामा उनलाई प्रहरीले फेला पारेको हो । उनको शवलाई पोष्टमार्टमका लागि काठमाण्डौको टिचिड अस्पतालमा लगिएको छ ।
आज बिहान १० बजेपछि मात्र उनको पोष्टमार्टम हुनेछ । उनको आत्महत्यको कारण खुल्न सकेको छैन । परिवारले पनि यस बिषयमा कुनै जानकारी दिएको छैन । आलोक नेम्वाङका भिनाजु विजय लामाले सम्पूर्ण जानकारी परिवारले दिने भन्दै मिडियालाई संयमित भैदिन आग्रह गरेका छन् ।
उनको निधनसँगै प्रहरीले सुसाइड नोट पनि फेला पारेको छ । यसमा के लेखिएको छ भन्ने कुरा खुलाइएको छैन । निर्देशक नेवाङको निधनको खबर थाहा पाएलगतै उनको अपार्टमेन्टमा चलचित्र पत्रकार र कलाकारहरु पुगेका थिए ।
को हुन् आलोक ?
अमेरिकामा पढेर आएपछि आलोक काठमाण्डौको सोल्टीमोडमा बस्दै आएका थिए । उनले सुरुवातमा ईमेज च्यानलबाट आफ्नो कामको सुरुवात गरेका हुन् । १७ बर्ष अगाडि उनले पहिलो पटक लाखौ पटक मैले कोशिश गरे बोलको गीतको म्यूजिक भिडियो निर्देशन गरेका थिए । नविन के भट्टराइको आवाज रहेको यो भिडियो चर्चामा रहेको थियो ।
भिडियोमा आलोकले आफै अभिनय पनि गरेका थिए । आलोकसँग भिडियो खेल्नेमा नायिकाहरु झरना बज्रचार्य, संचिता लुइटेल, नम्रता श्रेष्ठदेखि रिमा विश्वकर्मा, केकी अधिकारी सम्म पर्छन् । यस्तै, बसमा छैन मेरो मन पनि आलोकको अर्को चर्चित भिडियो हो ।
नेपाली म्यूजिक भिडियोको दुनियामा आलोक थोरै गनिने निर्देशकको सूचीमा पर्छन् । विशेषगरि भिडियोमा रंगलाई महत्व दिने आलोकले पहिलो पटक नेपाली चलचित्र सानो संसार निर्देशन गरेका थिए । सानो संसारपछि उनले कोही मेरो चलचित्र निर्देशन गरे । दुबै चलचित्र व्यवसायिक रुपमा औषत रहेपनि आलोकको कामको प्रशंसा भयो ।
यसपछि उनी चलचित्र निर्देशनबाट केही पछि हटेका थिए । तर, करिब ५ बर्षको अन्तरालपछि आलोकले अझै पनि चलचित्र निर्देशन गरेका थिए । आलोकले सात सय भन्दा बढि म्यूजिक भिडियो निर्देशन गरेका छन् । नेपाली चलचित्र क्षेत्रमा नायिका नम्रता श्रेष्ठ, कर्मा, विनय श्रेष्ठ लगायतका कलाकारलाई आलोकले नै सानो संसारबाट भित्राएका हुन् । उनी पशुपंक्षी प्रेमी हुन् । आलोकले घरमा कुकुर र विरालो पनि पालेका थिए ।
-onlinekhabar