सत्तामा बस्ने चाहना छैन, संविधान जारी हुन साथ सत्ता छाड्छु -प्रधानमन्त्री


 

चितवन,/ प्रधानमन्त्री सुशील कोइरालाले संविधान बन्नासाथ आफू सत्ता छाड्न तयार रहेको बताएका छन् ।

कांग्रेस चितवनले बुधवार नारायणगढमा आयोजना गरेको कार्यकर्ता भेला तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री कोइरालाले तोकिएकै समयमा संविधान जारी हुनेमा सबैलाई ढुक्क हुन आग्रह गरे । ‘मैले प्रधानमन्त्री बन्छु भनेर कल्पना गरेको थिइन,’ उनले भने, ‘सत्तामा बस्ने चाहना छैन, संविधान जारी हुन साथ सत्ता छाड्छु ।’

कोइरालाले अब मुलुकले द्वन्द्व नधान्ने भन्दै वार्ताबाटै समस्याको समाधान गर्नु पर्ने बताए । ‘प्रचण्डजीलाई उत्तेजनामा आएर धम्कीको भाषा नबोल्नुस् भनेको छु,’ उनले भने, ‘त्यसैले म ढुक्क छु वार्ताबाट समस्याको समाधान हुने छ, मुलुकले फड्को मार्ने छ, त्यो दिन धेरै टाढा छैन, माघ ८ गते मुलुकले लोकतान्त्रिक संविधान पाउने छ ।’ कोइरालाले कसैलाई पनि नएक्ल्याई साथ लिएर संविधान जारी गर्ने दाबी गरे ।

सहमतिको नाममा कांग्रेस र एमालेले धोका दियो भन्नु त्यो सरासर झुठो आरोप भएको बताउँदै उनले कांग्रेस जिम्मेवार पार्टी भएकाले संविधान बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

मुलुकले धेरै प्रदेश कुनै पनि हालतमा थेग्न नसक्ने दोहोर्‍याउँदै प्रधानमन्त्रीले थोरै प्रदेश बनाउनुपर्नेमा जोड दिए । प्रधानमन्त्री कोइरालाले भ्रष्टाचार गरेको प्रमाण ल्याए मन्त्री कर्मचारी कसैलाई पनि नछोड्ने भन्दै उसलाई जेल हाल्न आफू तयार रहेको बताए ।

फरक प्रसंगमा कोइरालाले अहिले आफ्नो स्वास्थ्य ठिक भएको बताए । ‘क्यान्सरले मलाई खान आयो,’ उनले भने, ‘मैले क्यान्सरलाई खाए, अब दुःख गर्न तयार छु ।’

यसैबिच नेपाल प्रेस युनियन जिल्ला शाखाद्धारा गठित पत्रकार कल्याण कोषमा प्रजातन्त्र सेनानी श्यामकृष्ण प्रधानका छोरा सुबोध प्रदानले ३ लाख रकम प्रदान गरेका छन् । प्रजातन्त्र सेनानी श्यामकृष्ण प्रधानको स्मृतिको अवसर पारी उक्त रकम हस्तान्तरण गरिएको हो । प्रधानमन्त्री कोइरालाले उक्त रकम प्रेस युनियनका जिल्ला अध्यक्ष नारायण अधिकारीलाई बुधवार एक कार्यक्रमबीच हस्तान्तरण गरे – ekantipur