राहदानी विभाग दुई सत्रमा सञ्चालन


काठमाडौं /सेवाग्राहीलाई सहज होस् भन्ने उद्देश्यले केन्द्रीय राहदानी विभागले सोमबारदेखि दुईसत्रमा काम सुरु गरेको छ । प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको सिफारिसमा विभागले दुईसत्रमा सेवा सुरु गरेको हो ।
विभागले हरेक दिन बिहान सात बजेदेखि साढे १२ बजेसम्म टोकन वितरण गर्ने र सो दिन टोकन पाउनेलाई सोही दिन सेवा दिने भएको छ ।
विभागले दैनिक करिब चार हजार जनालाई सेवा प्रदान गर्दै आएको छ । हाल सामान्य अवस्थामा पाँच हजारमा र तत्कालका लागि १० हजार रुपैयाँमा राहदानी पाउन सक्ने व्यवस्था छ ।
सन् २०१० डिसेम्बर २६ देखि यन्त्रले पढ्ने राहदानी -एमआरपी) वितरण सुरु गरेकामा २०१४ को सेप्टेम्बरसम्म २४ लाख ४२ हजार नेपालीले यस्तो राहदानी प्राप्त गरिसकेका छन् ।
हालसम्म करिब १० लाख हस्तलिखित राहदानी विस्थापित भइसकेका छन् भने अझै १५ लाख राहदानी हस्तलिखित रहेका छन् । अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठनका अनुसार सन् २०१५ को नोभेम्बरपछि यन्त्रले पढ्ने राहदानी नलिएकालाई कुनै पनि मुलुकको भ्रमण गर्न नपाउने व्यवस्था गरेका कारण एमआरपी लिनैपर्ने बाध्यता छ । रासस