अख्तियारद्वारा पोखरा विश्व विद्यालयका उपकुलपतिसहित २३ पक्राउ


 

पोखरा/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा खगेन्द्र प्रसाद भट्टराई सहित २३ पदाधिकारी र कर्मचारीलाई भ्रष्टचारको अभियोगमा पक्राउ गरेको छ । पोखरा विश्वविद्यालय पोखरामा भएको आर्थिक अनियमितता तथा भ्रष्टाचारको अनुसन्धानका क्रममा अनियमितता गरेको देखिन आएकाले भट्टराई सहित २३ जनालाई हिरासतमा लिइएको अख्तियारले जनाएको छ ।

पक्राउ पर्नेमा पूर्व उपकुलपति केशरजंग बराल, रजिष्टार मानबहादुर केसी, पूर्व रजिष्टार ओमप्रकाश शर्मा, डिन सुरेशप्रसाद वास्तोला, योजना महाशाखा प्रमुख हरिबहादुर खड्का, उपप्रशाखक लेखा यादव थापा, रविन्द्र प्रसाद बराल छन् । यस्तै परीक्षा नियन्त्रक बलराम भट्टराई, कामु परीक्षा नियन्त्रक पूर्णचन्द्र शर्मा, पूर्व परीक्षा नियन्त्रक कर्णवीर पौडेल, कन्सल्टेण्ट प्रमुख पदमबहादुर शाही, प्राविधिक शाखा प्रमुख विनोद प्रसाद ढकाल, उपप्रशासक होमबहादुर थापा, गोवर्धन भट्टराई पनि पक्राउ परेका छन् ।

यस्तै कार्यकारी परिषद्का सदस्य दिपकराव पौडेल, पूर्व सदस्यहरु इन्द्रप्रसाद तिवारी, भवानीप्रसाद पाण्डे, ज्ञानेश्वर शर्मा, चन्द्रमणि पौडेल, इश्वरचन्द्र बानिया छन् । ठेकेदार रामेश्वर भण्डारीलाई पनि हिरासतमा लिइएको अख्तियारले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालयले पोखराले ठूलै भ्रष्टाचार भएको देखाए पछि अनुसन्धान गरेर काठमाडौ पठाएको थियो । विभिन्न क्याम्पसलाई दिइएको सम्बन्धन, भवन निर्माण र खरिद प्रक्रियाबारेमा अनुसन्धानमा ठूलै भ्रष्टाचार भएको देखिएको स्रोतले जानकारी दिए।

विश्वविद्यालयले कन्सल्टेन्सी नियुक्ती गर्नुपर्ने काम पनि कर्मचारीलाई नै काम दिएको, एक वर्षमा २४ महिनासम्मको तलब खाएको देखिएको स्रोतले जानकारी दिएको छ। अख्तियारले धेरै उजुरी परेपछि विश्वविद्यालयमा बसेरै अनुसन्धान शुरु गरेको थियो। अनुसन्धानका लागि अख्तियारको केन्द्रीय कार्यालयका प्रहरी निरीक्षक सुबास पण्डितको नेतृत्वमा छानविन टोली खटिएको थियो ।

विश्व विद्यालयले बिना बिज्ञापन ९ वटा क्याम्पसलाई सम्बन्धन दिईएको, भवन निर्माणमा ढिलासुस्ति तथा आर्थिक चलखेल भएको तथा खरिद प्रक्रियामा पनि भ्रष्टाचार भएको भन्दै दर्जनौं उजुरी अख्तियारमा परेका थिए। विद्यार्थी संगठनले पनि बेथीतिको अन्त्यको लागि भन्दै आन्दोलन गरेका थिए ।

अहिले ७ वटा भवन निर्माण भैरहेका छन्। करिब २५ करोड रुपैयाँको लागतमा भवन निर्माण हुन लागेका हुन्। ‘एक भवन एकवर्षमा ८ करोडमा निर्माण गर्नुपर्ने थियो, भएन उसलाई कारबाही गर्नुपर्नेमा उल्टै ११ करोड पुर्‍याइयो थियो । पोखरा विश्वविद्यालय सहित ५८ सम्बन्ध क्याम्पसमा गरेर २५ हजार विद्यार्थीले अध्ययन गर्ने गर्छन। मेडिकल कलेज सञ्चालनका लागि पोखरा विश्वविद्यालयले अनियमित रुपमा सम्बन्धन दिएको भन्दै विद्यार्थी संगठनले आन्दोलन समेत गरेका थिए।