मोदी सार्क शिखर सम्मेलनमा सहभागी हुन जनकपुर हुँदै नेपाल आउने


काठमाडौं / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आसन्न सार्क शिखर सम्मेलनमा सहभागी हुन काठमाडौं आउँदा विगतको परम्परा तोडिने भएको छ ।
दिल्लीबाट मोदी सीधै काठमाडौं नआई पटनाबाट जनकपुर आउनेछन् । र, जनकपुरको रामजानकी मन्दिरमा पूजापाठ गरेपछि मात्रै उनी काठमाडौं आउनेछन् ।

सार्क सम्मेलन सकेर भारत र्फकँदा पनि मोदी काठमाडौंबाट सीधै दिल्ली जाने छैनन् । काठमाडौंबाट लुम्बिनीमा गौतम बुद्धको जन्मस्थल अवलोकन गरी उतैबाट दिल्ली जाने मोदीको भ्रमण कार्यतालिका बनेको छ । सार्क सम्मेलनमा काठमाडौं आउँदा भारतीय प्रधानमन्त्री मोदी सुरुमा बिहारबाट जनकपुर आउनेछन् र फर्कँदा पनि लुम्बिनी हुँदै यूपीतर्फ लाग्नेछन्
यसवीच मुस्ताङमा रहेको मुक्तिनाथको समेत दर्शन गर्ने मोदीको कार्यतालिका थपिएको छ । गत साउनमा पशुपतिनाथको दर्शन गर्न नेपाल आएका मोदीले सार्क सम्मेलनमा आउँदा जनकपुर र लुम्बिनीको भ्रमण गर्ने घोषणा गरेका थिए ।
हिन्दुवादी प्रधानमन्त्री मोदीले पशुपतिनाथ, मुक्तिनाथ र केदारनाथको धार्मिक पर्यटकीय रुटको परिकल्पना गरेका छन् । यसैले पनि उनले मुक्तिनाथको दर्शनलाई महत्व दिएका हुन् ।
मोदीले सीधै काठमाडौंको विमानस्थल प्रयोग नगरेर भारतीय प्रधानमन्त्रीहरुको नेपाल भ्रमणको परम्परालाई तोड्दै नयाँ इतिहास रच्न लागेका हुन् ।
भारतीय प्रधानमन्त्री मोदी केही न केही नयाँ गतिविधि गरेर चर्चा कमाउन निकै माहिर छन् । 0nlinekhabar