शेर्पा संघ यूरोपले, शेर्पा वृद्ध मिलन केन्द्र निर्माणमा सहयोग गर्ने


बार्सिलोना

यूरोपमा वसोवास गर्ने शेर्पा समुदायको एक मात्र साझा संस्था शेर्पा संघ, यूरोपको नवौं अनलाइन बैठक गत १२ अक्टोबरमा सम्पन्न भएको छ। संघका अध्यक्ष हेम शेर्पाको अध्यक्षतामा बसेको सो बैठकले शेर्पा सेवा केन्द्रद्वारा निर्माणाधीन शेर्पा बृद्ध मिलन केन्द्रको लागि आर्थिक सहयोग गर्ने संघको अघिल्लो बिशेष बैठकको निर्णय अनुसार सो सम्बन्धि अपडेट बारे छलफल हुँदा पोर्तुगलबाट संघका सदस्य तथा शेर्पा किदुग पोर्तुगलका अध्यक्ष सोम फुरी शेर्पा, बेल्जियमबाट थप तीन जना र बेलायतबाट ७ जना आजीवन सदस्य (रु. ७५ हजार) बन्नु भएको त्यस्तै गरी स्पेन लगायत बेल्जियम, जर्मनी, यू.के. तथा पोर्तुगलका शेर्पा समुदायका अन्य धेरै महानुभावहरु यस अभियानमा सहभागी हुन इच्छुक र सकारात्मक भएको जानकारी अपडेट भएको थियो।

यस अघि सो अभियानमा सहयोग गर्नेहरुमा संघका उपाध्यक्ष पेम्बा शेर्पा(पोर्तुगल – रु. १ लाख ५० हजार) , सल्लाहकार सोनाम(ए.डी.) शेर्पा (बेल्जियम – रु. ७५ हजार), अध्यक्ष हेम शेर्पा(स्पेन – रु. ७५ हजार), उपाध्यक्ष पासाङ देन्डी शेर्पा(जर्मनी – रु. ७५ हजार), महासचिव कर्मा छिरिङ्ग शेर्पा(बेलायत – रु. ७५ हजार), निवर्तमान अध्यक्ष आङ कल्जाङ लामा(बेलायत – रु. ७५ हजार), कोषाध्यक्ष ङिमा ओङछु शेर्पा(जर्मनी – रु. ७५ हजार) हुनुहुन्छ।

शेर्पा सेवा केन्द्रले वितरण गर्दै आएको संरक्षक तथा आजीवन सदस्यता वितरण प्रणालीभित्र समावेश भएर पनि उक्त योजनामा सहयोग गर्न सकिने छ। जस अनुसार रु. ७५ हजार भन्दा माथिको सहयोगमा आजीवन सदस्यता, रु. १ लाख ५० हजार भन्दा माथिको सहयोगमा संरक्षक सदस्यता र रु. २ लाख ५० हजार भन्दा माथिको सहयोगलाई विशेष सम्मान सो केन्द्रले प्रदान गर्ने प्रावधान रहेको छ।

शेर्पा संघ, यूरोपद्वारा वितरण गर्दै आएको अनाथ, अपांग तथा असाहय गरीव जेहेन्दार बालबालिकाको शिक्षामा छात्रावृत्तिका लागि प्राप्त निवेदनमाथि छलफल हुँदा सो कोष संचालक समितिले छानबिन गरी छनौटमा परेका विद्यार्थीको सूची र विवरण अनुमोदनका लागि संघको अर्को बैठकमा पेश गर्ने निर्णय सो बैठकले गरेको छ।

यसै गरी बौद्ध धर्मावलम्बिहरुको महान पर्व लोसार २१४२ को अवसर पारेर संघको प्रत्यक्ष बैठक आगामी १ मार्च, २०१५ आइतवारको दिन पोर्तुगलमा बस्ने भएको छ। शेर्पा किदुग, पोर्तुगललाई उक्त बैठकको व्यवस्थापनका लागि सहयोग गरिदिन पत्र मार्फत अनुरोध गरिएकोमा सो किदुगले गत बिहिवार २३ अक्टोबरमा बैठक बसी सदा झैं यस वर्षको लोसार साँझ कार्यक्रम आगामी २०१५ मार्च १ तारिक आयोजना गर्ने र शेर्पा संघ, यूरोपको प्रत्यक्ष बैठकको लागि व्यवस्थापन गर्ने निर्णय गरेको हो। यसबाट यूरोपका विभिन्न देशमा रहेका लोसार प्रेमीहरुलाई टिकट बूकिंग तथा समय व्यवस्थापन गर्न यथेष्ट समय मिल्ने भएकोले यस वर्षको “पोर्तुगल शेर्पा लोसार” कार्यक्रममा पोर्तुगल बाहिरबाट पनि व्यापक सहभागिता रहने अनुमान गरिएको छ।

यू.के. समय बिहान ९:३० बजेदेखि शुरु भएको उक्त बैठकका संचालन संघका महासचिव कर्मा छिरिङ्ग शेर्पाले गर्नु भएको थियो।