नेपालद्वारा बर्मूडा ८ विकेटले पराजित, नेपालको पहिलो जित


 

पोखरा/मलेसियामा जारी आइसीसी विश्व लिग डिभिजन ३ मा नेपालले बर्मुडालाई ८ विकेटले हराउदै पहिलो जित निकालेको छ। क्वालालाम्पुरस्थित सेलेङगर ट्रफ क्लब सेलेङ्गर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बर्मूडाले निर्धारित ५० ओभरको खेलमा ४० दशमलव १ ओभर खेल्दै १०० रनमा समेटिएको थियो।

१०१ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको नेपालले २ विकेट गुमाउँदै निर्धारित लक्ष्य ११ दशमलव १ओभरमै पूरा गरेको हो। नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ४३ रन बनाए। यस्तै ओपनर सुवास खकुरेल ३० तथा नरेश बुढाऐर ६ रनमा आउट भए। कप्तान पारस खड्का १४ रनमा अभिजित रहे।

प्रतियोगिताको पहिलो खेलमा नेपाल बिहीबार युगान्डासँग २० रनले पराजित भएको थियो। ६ टोली सहभागी डिभिजन ‘थ्री’बाट शीर्ष दुई टोली डिभिजन ‘टु’मा पुग्दा पुछारका दुई टिम डिभिजन ‘फोर’मा झर्नेछन् ।