नुवाकोटमा बस दुर्घटना, एक विदेशी सहित ७ जनाको मृत्यु


नुवाकोटमा /
रसुवाको स्याफ्रुबेंसीतर्फ जाँदै गरेको यात्रु बस नुवाकोटको बेलकोट गाविसमा शुक्रबार विहान दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ ।

विहान ८ बजे काठमाडौंको बालजुबाट हिँडेको बस नुवाकोटको बेलकोट गाविस–५ स्थित सडकबाट डेढ सय मिटर तल झरेर दुर्घटना हुँदा एक विदेशी सहित ७ जनाको घटनास्थलमै ज्यान गएको हो ।

एक विदेशी सहित ७ यात्रुको मृत्यु भएको दुर्घटनामा ३० यात्रु घाइते भएका छन् । छतमा समेत यात्रु हालेर रसुवाको स्याफ्रुबेंसी जाँदै गरेको बा२ख २२६६ नम्बरको यात्रु बस बेलकोटस्थित आरकाटे भिरमा खसेको हो ।

भिरमा झरेको बस क्षतविक्षत भएको छ । करिब ७० जना यात्रु बोकेको बस दुर्घटनामा परेकाले मृतक र घाइतेहरुको संख्या अझै बढ्न सक्ने प्रहरीको भनाइ छ । सो स्थानमा विगतमा पनि पटक पटक दुर्घटना हुने गरेको छ ।