ग्राहक तान्न छुट र उपहार,तिहारले पोखराको बजार भिडभाड,


 

पोखरा/तिहारको किनमेलले अहिले पोखराको मुख्य बजार महेन्द्रपुल र चिप्लेढुंगा पुरै भरिभराउ भएको छ । डिपार्टमेन्टल स्टोर देखि अन्य स–साना पसलमा पनि यतिबेला ग्राहकको निकै नै भिड लागेको छ । यो भिड अझै दुईदिनसम्म रहिरहने व्यवसायीको भनाई छ । बजार भरिभराउ भएपछि पैदल हिडडुलमा समेत समस्या छ ।

यहाँका डिपार्टमेन्टल स्टोरले उपभोग्य र लत्ताकपडामा विशेष छुट दिएर थप ग्राहक तानिरहेका छन् । सेलवेज डिपार्टमेन्टका म्यानेजर दयाल गिरीले घरायसी र उपभोग्य बस्तु किन्न यतिबेला बजारमा उपभोक्ताहरु आउने गरेको बताए । उपभोक्तालाई आकर्षित गर्न यतिबेला सेलवेजले उपभोग्य सामाग्री देखि लत्ताकपडामा छुट समेत दिएको छ । सेलवेजका म्यानेजर गिरीका अनुसार अहिले खाद्यान्नमा ५, भान्साका भाडाकुडाँमा १० र लत्ताकपडामा २० प्रतिशतसम्म छुट दिइएको छ । ‘मुल्यमा छुट दिएकोले पनि आकर्षण बढेको हो ।

महंगिको मारमा परेका उपभोक्तालाई यो छुटले थोरै भएपनि राहत दिन्छ’ उनले भने, ‘केहि समय यो छुट रहिरहनेछ ।’ अर्का कपडा व्यवसायी चन्द्रेश्वर बस्ताकोटीले पनि पोखराको चिप्लेढुंगा बजारमा यतिबेला निकै नै भिड लागेको बताए । लत्ताकपडा महंगो बजारमा उपभोग्य बस्तुभन्दा कपडाको मुल्य अधिक बढेको छ । पोहोरको तुलनामा सबैखाले गार्मेन्ट कपडामा २५ प्रतिशतसम्म मुल्य बढेको उद्योग बाणिज्य संघ पोखराका उपाध्यक्ष तथा फेन्सी एवं रेडिमेड व्यवसायी संघका अध्यक्ष मिनराज काफ्लेले बताए ।

काफ्लेका अनुसार पोखरामा अधिकांश चिनियाँ कपडा आउँछन् । तातोपानीबाट काठमाडौं हुँदै पोखरासम्म आउने कपडा सिन्धुपाल्चोकको पहिरोले समयमा समयमै आउन नसकेर रोकिएका थिए । तर, बाटो बिग्रेको निहुँ पारेर ढुवानीकर्ताले जथाभावि ढुवानी खर्च लिएपछि यो पटक कपडा महंगिएको उनले बताए । ढुवानीकर्ताले खासाबाट काठमाडौं ल्याउँदा जथाभाबि भाढा लिने गरेको उनले बताए ।

 पोखरा महेन्द्रपुल स्थीतको सेलवेज डिपार्टमेन्ट स्टोरमा तिहारका लागी सामन किन्दै ग्राहाक । तस्विर ः सागर राज तिमिल्सिना