मनाङ र मुस्ताङमा अझै ६० भन्दा बढि पर्यटक सम्पर्क विहिन


 

पोखरा/असोज २७ र २८ गते भएको हिमपातमा परेर मनाङबाट मुस्ताङका लागी हिँडेका ६० जना भन्दा बढी बिदेशी पर्यटक सम्पर्क विहीन बनेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोमले दिएको जानकारी अनुसार विश्वको साहासिक पदमार्गमा यात्रा लागी आएका विभिन्न देशका ६० भन्दा बढि पर्यटक सम्पर्कविहिन बनेका हुन् ।

अझै नेपालीहरु कति हराइ रहेका छन् भने कुनै गणना नै छैन । एक्यापमा नेपाली पर्यटकहरुले दर्ता हुन नपर्ने भएका कारण पनि हराउने नेपालीको संख्या थाहा हुन नसकेको हो । अन्नपूर्ण पदयात्राको साहासीक गन्तब्य थोराङ्ला भञ्ज्याङ पास गर्न मनाङबाट मुस्ताङका लागी हिडेका तिन सय ५६ जना बिदेशी पर्यटक मध्ये आईतबार सम्म २ सय ९६ जना सम्र्पकमा आएको एक्याप जोमसोमका प्रमुख बिदुर कुईकेलले जानकारी दिए ।

उनका अनुसार मनाङ र मुस्ताङको पदयात्रामा निस्कीएका मध्ये अझै ६० जना एक्याप र सुरक्षा निकायको सम्र्पकमा नभएको बताए । उनीहरु हिउमा नै हराएको, फर्केको वा एक्यापमा इन्ट्री नगरी गएको समेत हुन सक्ने उनले बताए । एक्याप जोमसोमको तथ्याक अनुसार असोज २८ गते ७८ जना, २९ गते १४४ जना, ३० गते ४४ जना, ३१ गते १० जना, कात्तिक १ गते २० जना र २ गते एक जना बिदेशी नागरीक एक्यापको सम्र्पकमा आएका छन् ।

हालसम्म मनाङ र मुस्ताङमा हिमपातका कारण ज्यान गुमाउने पदयात्रीको संख्या ४० जना भन्दा बढिको मृत्यु भैसकेको छ । हिमपातको घटना पछि स्वदेशी तथा विदेशी पर्यटकको संख्या ह्वात्तै घटेपनि मौसममा सुधार आएपछि कतिपय पर्यटकले पदयात्रालाई निरन्तरता दिइरहेका छन् । साहसिक गन्तब्यको रुपमा ख्यातीकमाएको अन्नपुर्ण फेरोको थोराङपासमा जाने भने केहि समयका लागि पर्यटकलाई जान रोक लगाएको छ । अन्नपुर्ण फेरोको थोराङपास भन्दा तल र अन्य क्षेत्रमा जान भने रोक नलगाएको टानले जनाएको छ ।