प्रचण्ड, बाबुराम र वैद्यले पार्टी बिगारे


कात्तिक / एकीकृत नेकपा माओवादीका केन्द्रीय कोषाध्यक्ष हरिबोल गजुरेलले प्रचण्ड, बाबुराम र मोहन वैद्यले पार्टी बिगारेको बताएका छन् । क्रान्तिकारी पत्रकार संघ कास्किीले शनिबार आयोजना गरेको थमन–महेश पत्रकारीता पुरस्कार २०७१बाट पत्रकार महेश्वर दाहाललाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै नेता गजुरेलले तिन प्रमुख नेताका अलवा पार्टी बिगार्नमा आफ्नो पनि हिस्सा रहेको धारणा राखे । पार्टी बिग्रनुमा एकले अर्कोलाई मात्र दोष लगाएर मात्र हुदैन, आत्म समिक्षा गर्न जरुरी छ । उनले भने(पार्टी बिगार्ने नेतालाई खबरदारी नगर्नु कार्यकर्ताको पनि कमजोरी छ । उनले सामाजीक परिवेशले नेता तथा कार्यकर्ता अवसरवादी भएकोले पार्टी बिग्रीएको विचार व्यक्त गरे ।

माओवादी आन्दोलन कमजोर भएको छ, उनले भने–निर्वाचनको पराजय र जनतासंगको सम्वन्ध टुटेकोले नेताहरुमा चेत आउनु पर्ने हो । पहिचान सहितको संघियताको कारणले संविधान सभाको निर्वाचनमा पार्टी पराजय भएको टिप्पणीलाई कोषाध्यक्ष गजुरेलले ठाडै अस्विकार गरे । जातिय कुराले होइन, उनले भने– वर्ग प्रतिको प्रतिवद्धता कमजोर भएको कारणले पार्टी हारेको हो । विचार र वर्गीय आन्दोलनबाट पार्टी विचलीत भएको उल्लेख गर्दै उनले वैचारीक निति र प्रतिवद्धता गरे अनुसार व्यवहारमा उतार्न नसकेको स्विकार गरे ।

एनेकपा माओवादीले मुख्य रुपमा वर्गीय आन्दोलनलाई नै अगाडी बढाउने उल्लेख गर्दै उनले जातिए उन्मुक्तिको सवाल पछि आएको धारणा राखे । प्रमुख राजनितिक दल अग्रगमनबाट पछि हटेको दावी गर्दै नेता गजुरेलले परिवर्तनकारी दलले परिवर्तनको एजेन्डा छोडेकोले इतिहासले नराम्रो जवाफ दिने दावी गरे । कार्यक्रममा क्रान्तिकारी पत्रकार संघका संस्थापक तथा नेकपा–माओवादीका केन्द्रीय सदस्य महेश्वर दाहाललाई २५ हजार नगद सहित दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरियो । नेकपा(माओवादीका पोलिट व्युरो सदस्य श्रीनाथ अधिकारी (श्याम)ले विश्वमा माओवाद एउटै भए पनि नेपालमा माओवादी पार्टीहरु धेरै भएको बताए । पार्टीका केन्द्रीय सदस्य दाहाल पत्रकारीतामा लागेको कारण पुरस्कृत भएको बताए । क्रान्तिकारी पत्रकार संघका केन्द्रीय संयोजक गोविन्द आचार्यले क्रान्तिकारी पत्रकार संकटमा परेको उल्लेख गदै ठेकेदारी पत्रकारीता हावी भएको धारणा राखे । अग्रज पत्रकार महेश्वर दाहालले आफुले व्यवसायीक नभइ वर्गीय आन्दोलन संग जोडिएर पत्रकारिता गरेको बताए । उनले पाएको पुरस्कारबाट सशस्त्र द्वन्दमा मारिएका पत्रकारको जिवनी समेटेर पुस्तक निकाल्ने जानकारी दिए ।

कार्यक्रममा विजय ढकाल स्मृति प्रतिष्ठानका अध्यक्ष विश्वप्रकाश लामिछाने र स्वर्गीय पत्रकार महेश्वर पहारीकी धर्मपत्नी दुर्गा पहारीले क्रान्तिकारी पत्रकार संघको कोषको लागि क्रमश २५ हजार र १५ हजार प्रदान गरे । संघका अध्यक्ष त्रिभुवन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य रुद्र भट्ट, प्रतिभा छनौट समितिका संयोजक कोमल नाथ बराल, सभासद तेजकुमारी पौडेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, पत्रकार दिपक परियार, घनश्याम पाण्डे लगायतका वक्ताले मन्तव्य राखेको थिए ।