तिहार पछि पारसलाई नेपाल ल्याउने तयारी


 

पोखरा/

थाइल्यान्डमा गाँजा सेवनको अभियोगमा पक्राउ परेका पूर्वयुवराज पारस शाहलाई तिहार पछि काठमाडौं बोलाउने तयारी परिवारले गरेको छ। उनलाई धरौटीमा रिहा गराउने प्रयास भएको आजको नयाँ पत्रिकामा खबर छापिएको छ।

धीरेन्द्र शाहका छोरी सीताष्मा र बहिनी प्रेरणाले पारसलाई रिहा गराउन यसपटक चासो राखेका स्रोतको भनाई छ। स्रोतका अनुसार बाबु ज्ञानेन्द्र शाह र आमा कोमल पनि पारसको अवस्थामाबारे चिन्तित छन्। यसपटक रिहा भएमा जसरी भए पनि पारसलाई काठमाडौंमै बोलाउने तयारी शाही परिवारको रहेको स्रोतले दाबी गरेको छ।

चार वर्षको भिसाअवधि सकिएपछि गत २१ साउनमा तीन महिनाका लागि भिसा थप गरिएको थियो। अर्को पटक भिसाको म्याद नथपी नेपाल बोलाउनुपर्ने सल्लाह नातेदारहरूले परिवारलाई दिएको स्रोतले बतायो। उता, पारस पक्राउ परेयता उनकी प्रेमिका सम्पर्कमा आएकी छैनन् । यसपटक पारस रिहा भएपछि प्रेमिकासित सम्बन्ध बिग्रन सक्ने र सजिलै नेपाल आउन तयार हुने विश्वास उनका साथीहरूको छ ।

पारसका परिवारले पनि पारससँग उनकी प्रेमिकाको सम्बन्ध बिग्रियोस् भन्ने चाहेको छ । तिहारसम्म पारसको मुद्दाको छिनोफानो भइसक्ने अनुमान पारसका परिवारले गरेका छन् । होटल तोडफोडको अभियोगमा लागेको मुद्दामा पारसले केही दिनअघि सफाइ पाएका थिए । पारसलाई छुटाउन अहिले उनका साथी राजेश सिंह केही रकम लिएर बैंकक पुगेका छन् ।

थाइल्यान्डको कानुनमा गाँजा सेवनलाई ठूलो अपराध मानिँदैन । गाँजा कारोबार भने जघन्य अपराध मानिन्छ । गाँजा सेवनको अभियोगमा पक्राउ परेको मुद्दामा धरौटीमा रिहा गर्न सकिने थाई कानुन छ । तर, पारस विगतमा पनि पटक–पटक गाँजा सेवनको अभियोगमा पक्राउ परेकाले यसपटक जेल सजाय हुनसक्ने आशंका पनि उनका साथीहरूको छ ।