‘स्व. डा. अन्जनीको जिवनीबाट पाठ सिक्नुपर्ने ’


 

पोखरा /नेपाल सर्जीकल समाज गण्डकी शाखाले नेपालकै पहिलो सर्जन स्व.डा. अन्जनी कुमार शर्माको निधन प्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेको छ । शाखाले आइतवार क्षेत्रीय अस्पताल पोखरामा आयोजना गरेको कार्यक्रममा चिकित्सकहरुले डा. शर्माले चिकित्सा क्षेत्रमा पु¥याउनु भएको योगदानको खुलेर चर्चा गरे ।
विहान चार बजेदेखि बेलुकी अबेर सम्म विरामीकै सेवामा सर्मपित डा. शर्माको जिवनले अरु चिकित्सकलाई प्रेरणा थपेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका प्रमुख कन्सल्टेन्ट डा. बुद्धि बहादुर थापाले बताउनुभयो । मुलुकमा राजा–राजपरिवार तथा राणा भाइ भारदारले मात्र बढ्नुपर्छ भन्ने तत्कालीन मान्यता चिर्दै वि.स. २००२ सालमा वीर अस्पतालमा चिकित्सक बनेर उहाँले सेवा थाल्नुभएको थियो ।

सर्जिकल समाज गण्डकीका अध्यक्ष समेत रहेका बरिष्ठ युरोलोजिष्ट डा. ध्रुब बहादुर अधिकारीले डा. शर्मालाई सम्झदै भन्नुभयो– ‘स्वास्थ्य सेवालाई सेवाकै रुपमा विकास गर्नुपर्ने उहाँको जीवनको मुल मन्त्र थियो ।’ डा. शर्माको जीवनीबाट सबैलाई पाठ सिक्नुपर्नेमा बरिष्ठ मानसिक रोग विशेषज्ञ डा. लुमेश्वर आचार्यले जोड दिनुभयो । कार्यक्रममा डा. प्रदिप घिमिरे, डा. हुम प्रसाद न्यौपाने लगायतले डा. शर्माको सरलपनको प्रशंशा गर्दै सरकारले उहाँलाई उचित सम्मान दिन नसकेको गुनासो गर्नुभयो ।

डा. शर्मा नेपालको पहिलो सल्य चिकित्सक, विर अस्पतालका प्रथम सर्जरी विभाग प्रमुख, त्रिभुवन विश्व विद्यालयका प्रथम सर्जरी प्राध्यापक, लायन्स क्लवका संस्थापक अध्यक्ष समेत रहेर जिम्मेवारी निर्वाह गर्नुभएको थियो । वि.स. १९८९ साल जेष्ठमा सिरहाको हनुमान नगरस्थित भल्वाहीमा सामान्य परिवारमा जन्मेका अन्जनीको ८६ वर्षको उमेरमा गत मंगलवार आफ्नै निवास काठमाडौंमा निधन भएको थियो ।