सरकारले बकर इदको अवसरमा सार्वजनिक विदा दिने


 

काठमाडौं, असोज १८/
सरकारले मुस्लिम धर्मावलम्वीहरुको धार्मिक पर्व बकर इदको अवसरमा असोज २० गते सार्वजनिक विदा दिने भएको छ।

गृहमन्त्रालयका अनुसार, सोमबार देशभर सार्वजनिक विदा दिने घोषणा सरकारले गरेको हो।

मुस्लिम धर्मावलम्वीहरुले यस अघि १९ गते नै बकर इद पर्ने वताएका थिए। तर नेपाल र भारतमा रहेका मुस्लिम धर्मगुरुहरुले सो दिन चाँद राम्रो नदेखिने भएको भन्दै २० गते मनाउने घोषणा गरेको स्वतन्त्र सभासद अतहर कमाल मुसलमानले बताए।

बकर इदको दिन मुस्लिम सम्प्रदायका मानिसहरुले बिहानै उठी नुहाएर नमाज पढी पूजापाठ पश्चात आफ्नो घरमा खसी, बोका र राँगा काट्छन्। यसरी काटेको खसी, बोका र राँगाको तीन भागमध्ये एक साथीभाई, इष्टमित्रलाई, एक भाग आफ्नो परिवारलाई र बाँकी एक भाग गरिबलाई बाड्ने गर्दछन्।

हिन्दुहरुको राष्ट्रिय चाड दशैंको सार्वजनिक विदा असोज आइतबार सकिए लगत्तै सोमबार सरकारी कार्यालयहरु खुल्नु पर्नेमा मुस्लिमहरुको पर्व बकर इद २० गते पेरेपछि सरकारी कार्यालयहरु बुधबारमात्रै खुल्ने भएको छन्। २१ गते मंगलबार दशैंको कोजाग्रत पूर्णिमाको दिन पनि सरकारले सार्वजनिक विदा दिने गर्दछ।