पोखराको आकाशमा प्याराग्लाइडिङ्गको मज्जा, पर्यटक बढ्दै


सागर राज तिमिल्सिना

पोखरा, १५ असोज/पर्यटकका लागि मौसम सुरु भएसँगै पोखराको आकाशमा प्याराग्लाइडिङ्ग गर्नेहरुको संख्या ह्वात्त बढेको छ । झण्डै १५ वर्ष अगाडि सुरु भएको प्याराग्लाइडिङ्ग अहिले आएर साहसिक पर्यटनको एउटा गन्तव्यथलो बनेको छ । पोखरा र यसको सेरोफेरोमा रहेको अन्नपूर्ण पदयात्रा विश्वको उत्कृष्ट १० पदयात्रा मध्ये एक हो भने प्याराग्लाइडिङ्ग विश्व उत्कृष्ट पाँच गन्तब्य स्थलमा पर्दछ ।

१ हजार ५ सय ९२ को उचाईमा रहेको कास्कीको सराङ्गकोटबाट डोरी र ग्लाइडरको भरमा चील झै फनन्न उडेर फेवाताल किनार खपौदीमा अवतरण गर्ने गर्दछन् । पाइलटहरु ८ हजार मिटरसम्म उडेर चीलजस्तै घुम्दै प्रकृतिको अलौकिक आनन्दमा रम्ने गरेका छन् । प्याराग्लाइडिङ्गमा पर्यटकको चाहना बढेपछि पोखरामा खोलिएका प्याराग्लाइडिङ्ग कम्पनीहरुले पनि क्षमता विस्तार गर्दै अगाडि बढेका छन् । प्याराग्लाइडिङ्गका लागि आकाश साँघुरिदै पनि गएको छ

पोखरामा सन्चालनमा रहेका प्याराग्लाइडिङ्ग कम्पनीहरु २० बटा छन् । पोखरामा सय भन्दा बढी पाइलटहरु भए पनि २० जना मात्र नेपाली पाइलटले मात्रै उडान भर्ने गर्दछन् । ती बाहेक अन्य प्याराग्लाइडिङ्ग उडानका लागि विदेशीको भर पर्नुपरेको छ । धौलागिरी, अन्नपूर्ण, मनास्लु हिमालदेखि लिएर कोरचनको डाँडा, सराङ्गकोटको चुली पाल्पाको श्रीनगर, तनहूँको बन्दीपुर, कास्कीकै मट्टीखानजस्ता पहाडमा सिधै अवतरण गर्न सकिन्छ । प्याराग्लाइडिङ्गबाट हिमाल, पहाड, गाउँसहर र तालतलैयाको अनूपम संगमलाई कैद गर्न सकिने पाइलट राम प्रसाद गौतमले वताए ।

नेपालको पर्यटन बजार फस्टाउँदै जाँदा प्याराग्लाइडिङ्गको आकर्षण पनि बढ्दै गएको छ । प्याराग्लाइडिङ्गका सौखिन पर्यटकहरु पोखरामा आएर तीनचार महिनासम्म पोखराको आकाशमा उड्ने गरेको पाइन्छ । कतिपय पर्यटकीय उत्पादकहरु आफैमा अनुपम भएको अनुभूति पोखराका पर्यटन ब्यवसायीको छ । अहिले आएर पोखराको आकाश चील उडे जस्तै रङ्गीबिरङ्गी प्याराग्लाइडिङ्गले भरि भराउ देखिन्छ ।

पोखरामा दैनिक ३ सय ५० भन्दा बढी पर्यटकहरु प्याराग्लाइडिङ्गमा उडेर मनोरञ्जन लिने गरेको व्यवसायीहरु बताउद छन् । यो साहासिक खेलका लागी चिनीया पर्यटकहरुका लागी पहिलो रोजाइमा पर्ने गर्दछ ।