प्रधानमन्त्री अमेरिकापछि बेल्जियममा यस्तो छ भ्रमण तालिका


दीपकज्योति पौडेल

बेल्जियम-

प्रधानमन्त्री सुशील कोइराला ब्रसेल्स आइपुगेका छन् ।संयुक्त राष्ट्र संघको महासभामा भाग लिएपछि स्वदेश फर्कने क्रममा प्रधानमन्त्री कोइराला बेल्जियमको राजधानी ब्रसेल्स आइपुगेका हुन् । कोइरालासँगै भ्रमण टोलीमा विदेश मामिला सल्लाहकार, परराष्ट्र सचिव शंकरदास बराँगीसहित ११ जना छन् ।

कोइरालाले सोमबार नै युरोपियन काउन्सिलका अध्यक्ष हर्मन भान रोम्पोईसँग औपचारिक भेटघाट गरेका छन् । यसैगरी युरोपियन कमिसनका अध्यक्ष र लक्जेम्बर्गका प्रधानमन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम रहेको ईयु तथा बेनेलक्सका लागि नेपाली दूतावास ब्रसेल्सका प्रतिनिधि लक्ष्मण खनालले जानकारी दिए ।

सोमबार साँझ बेल्जियमस्थित दूतावास निवासमा युरोपेली मुलुकमा कार्यरत नेपाली नियोग प्रमुखको संयुक्त बैठकमा सहभागी भई प्रधानमन्त्रीले आवश्यक निर्देशन दिने कार्यक्रम छ । हाल युरोपमा रहेका ७ वटा नेपाली नियोगमध्ये बेल्जियम, डेनमार्क र रसियामा मात्र राजदुत छन् भने अन्य देशमा कार्यवाहक राजदुतले काम चलाउँदै आएका छन् ।

प्रधानमन्त्री कोइरालाको निर्देशन सुन्न जर्मनीका लागि कार्यवाहक राजदुत प्रकाशमणि पौडेल, डेनमार्कका लागि नेपाली राजदुत मुक्तिनाथ भट्ट, स्वीजरल्याण्डका लागि कार्यबाहक राजदुत सुरेश अधिकारी, रसियाका लागि नेपाली राजदुत डा रविमोहन सापकोटासमेत उपस्थित हुनेछन् ।

बैठकमा विदेशस्थित नेपाली कूटनीतिक नियोगको अवस्था र नेपाल सरकारको नीति, नेपाली समुदायले विदेशमा भोगेका समस्या, पर्यटन प्रवर्द्धनका सम्भावना र आर्थिक कूटनीति जस्ता विषयहरुको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराइने भएको छ ।

सरकारले हालै नियुक्त गरेका राजदुतहरु स्वीजरल्याण्डका लागि दिपक धिताल, फ्रान्सका लागि अम्बिका लुइँटेल संसदीय सुनुवाई सकेर एग्रिमोको स्वीकृतिको प्रतिक्षामा छन् ।यसैगरी मंगलबार प्रधानमन्त्री कोइरालाले लक्जेम्बर्गका समकक्षीय जेभियर वेतलसग प्रधानमन्त्री कार्यालयमा औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

मंगलबार साँझ युरोपियन कमिसनका अध्यक्ष जोसे म्यानुअल वारोसोसँग भेटघाट गर्नेछन् । भेटघाटको क्रममा द्विपक्षीय सम्वन्ध तथा आपसी हितका बिषयमा कुराकानी हुने दूतावास स्रोतले जनाएको छ ।भ्रमणको अन्तिम दिन बुधबार दिउँसो गैरआवासीय नेपालीहरुसग बेल्जियमस्थित दूतावास निवासमा भेटघाट तथा अन्तर्क्रिया गरी कोइराला साँझ स्वदेश फर्किने छन् । – ekantipur