नागरिकता दिने प्रस्तावले  दोस्रो र तेस्रो पुस्ताका एनआरएन नेपाल फर्किन सक्ने


काठमाण्डौ,१२ असोज,।

संबिधानसभा राजनीतिक सम्बाद समितिले गैरआवासीय नेपालीलाई ‘बिशेष नागरिकता’ दिने सहमति गरेपछि गैरआवासीय नेपालीहरु उत्साहित देखिएका छन् ।
गैरआवासीय नेपालीहरुले लामो समयदेखि नेपाली नागरिकताको निरन्तरताको माग गरिरहेका बेला शुक्रबारको वैठकले एनआरएनलाई राजनीतिक अधिकार बिनाको नागरिकता दिने सहमति गरेको थियो ।

‘हामीले माग गरेजस्तो नभए पनि संबिधानसभाको समितिमा बनेको सहमतिले उत्साहित बनाएको छ’ एनआरएन अध्यक्ष शेष घलेले  भने-‘यो सहमतिलाई संबिधानमै ब्यबस्था गरिएको खण्डमा त्यसलाई उपलब्धीमूलक मान्न सकिनेछ ।’
बिदेशी नागरिकता लिने नेपालीहरुको संख्या अनुमानित दुईदेखि ३ लाख रहेको भन्दै अध्यक्ष घलेले उनीहरुलाई नेपाली नागरिकता दिँदा नेपालमा लगानीका लागि प्रोत्साहन मिल्ने बताए ।
‘तिब्र आर्थिक बिकाशका लागि अहिले नेपाललाई ठूलो पूँजी चाहिएको छ, तर नेपालको बर्तमान परिस्थीतिमा बिदेशी लगानीकर्ताहरुले हिम्मत गरिरहेका छैनन्’ अध्यक्ष घलेले भने-‘एनआरएनहरुलाई नागरिकता दिइयो भने लगानी भित्राउने नेतृत्व गैरआवासीय नेपालीहरुले गर्नेछन, बिदेशी लगानीकर्तालाई पनि नेपाल जान बिश्वास बढाउनेछन् ।’
तुलनात्मकरुपमा नेपालमा गरिने लगानीमा लाभ कम भएपनि भावनात्मक हिसावले एनआरएनहरुले लगानी गरिरहेको घलेले बताए । नयाँ संबिधानले एनआरएनहरुलाई नागरिकता दिने ब्यबस्था गरे लगानीका लागि देखिएको बाधा फुक्ने र एनआरएनलाई नेपाल फर्किने ठूलो आधार तयार हुने उनले बताए ।

‘लगानीका लागि कानुनी हैसियत नहुनु नै नेपालमा लगानी भित्राउन ठूलो बाधा बनेको थियो’ अध्यक्ष घलेले भने-‘नागरिकता पाएको खण्डमा सवैभन्दा ठूलो रोडब्लक खुलेको मानिनेछ ।’
‘नागरिकता पाउँदा झण्डै दुई तीन लाख सक्षम नेपालीहरु सीप र पूँजी लिएर नेपाल फर्किन्छन’ घलेले भने- यसले एनआरएनलाई भन्दा पनि मुलुकलाई धेरै फाइदा पुर्‍याउँछ ।’

हाम्रो माग पुरै सम्बोधन भएको छैनः लामिछाने

गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछानेले एनआरएनले भनेजस्तो नेपाली नागरिकताको निरन्तरता यो सहमतिले पनि कार्यन्वयन नगरेको बताउँछन् ।
‘संबिधानसभाको राजनीतिक समितिमा यो बिषयले प्रवेश पाउनु सकरात्मक हो’ लामिछानेले भने-‘तर अहिले ब्याख्या गरिएको प्राबधानले ‘एकपटकको नेपाली सधैको नेपाली’ भन्ने हाम्रो मूल मागलाई सम्बोधन गर्दैन । ‘नेपाली नागरिकताको निरन्तरता’ का लागि हामी अन्तिम समयसम्म पनि संबिधान सभामा प्रयास गर्नेछौं ।’
यो मुद्दा लगानीसँगै भावनासँग पनि जोडिएको भन्दै लामिछानेले नागरिकता दिँदा नेपालमा लगानी गर्न चाहानेहरुलाई सहज वातावरण वन्न सक्ने बताउँछन् ।
गैरआवासीय नेपाली संघका संरक्षक एवं नागरिकताको निरन्तरतासम्बन्धी समितिका संयोजक रामप्रताप थापाले यो बिषय अब संबिधानसभाले उल्टाउला भन्ने आफूलाई नलागेको बताउँछन् । ‘संबिधानसभाको प्रमुख समितिले नै स्वीकार गरिसकेकाले यो अनुमोदन हुनेमा हामी बिश्वस्त छौं, तैपनि त्यसो नहुादासम्म हामीले निरन्तर दबाद दिनुपर्छ ।’ उनले भने ।
नेपाली नागरिकता दिँदा दोस्रो र तेस्रो पुस्ताको नेपालसँगको भावनात्मक सम्बन्ध बन्ने र लगानीका लागि बाटो खुला हुनेमा थापा बिश्वस्त छन् । ‘कार्यदलको अध्यक्षको हैसियतले म सवै एनआरएन साथीहरुको तर्फबाट संबिधानसभा र सभासदज्यूहरुलाई धन्यवाद दिन चाहान्छु ।’ थापाले भने ।
-onlinekhbar