बन्दीगृहका एचआईभी संक्रमितलाई औषधोपचारको समस्या


हुम तमु
पोखरा,  असोज

पोखरा ३, नदिपुरस्थित महिला मञ्च कास्कीले संविधान सुचना केन्द्र पोखराको सहकार्यमा पोखरामा मंगलवार बन्दीगृहमा रहेका एच आई भी संक्रमितहरुको स्वास्थ्य सेवामा पहुँच विषयेक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

संविधान सुचना केन्द्र, गण्डकीको सभाहलमा आयोजित कार्यक्रमका सहभागीहरुले बन्दीगृहमा रहेको एचआईभी संक्रमितलाई विशेष व्यवस्था र नयाँ बन्ने संविधानमा संक्रमितहरुको स्वास्थ्य, शिक्षा, आवास एवं सामाजिक हैसियतको सुनिश्चितता हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा संविधान सुचना केन्द्र गण्डकीका प्रमुख अधिवक्ता जुनाकुमारी गुरुङले एचआईभी संक्रमितका बारेमा व्यवस्था गरिएको संबैधानिक अवस्था, निधी, ऐन र कानुनमा पनि स्पष्ट उल्लेख नगरी उल्लेख गर्नुहुदै नेपाल पक्ष राष्ट्र भएर विभिन्न स्वास्थ्य एवं एच आई भि संक्रमितसँग अभिसन्धिहरुमा हस्ताक्षर गरे पनि कार्यन्वयन नभएको गुनासो व्यक्त गर्नुभयो । उहाँले नयाँ बन्ने संविधानमा संक्रमितहरुको अधिकार सुनिश्चित हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमा प्रमुख अतिथि कास्की कारागार प्रमुख जेलर रमेश कुमार श्रेष्ठले कुल ६० जनाको क्षमता रहेको कारागारमा ५२२ जना बन्दीहरु राख्नुपर्ने अवस्था छ भन्नुहुदै कास्की कारागारमा रहेका एक महिला सहित पाँच एचआईभी संक्रमितका लागि गैरसरकारी संस्थाहरुले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । संक्रमितलाई औषधि मात्रै होइन थप पौष्टिक आहारको आवाश्यक छ, तर त्यसको व्यवस्था कारागारमा नभएको उहाँको भनाई थियो । हामीले उपचारका लागि आफै केही रकम संकलन गर्दा पनि बन्दी आर्यन मल्लको उपचारकै क्रममा निधन हुदा दुख लागेको बताउनुभयो ।

कार्यक्रममा महिला मञ्च कास्कीकी ध्रुवकुमारी गुरुङले बन्दी ग्हमा रहेका एचआईभी संक्रमितलाई आवाश्यकता अनुसारको औषधोपचार र खानपानको व्यवस्था नभएकाले संक्रमितहरु बन्दीगृहमा थप पीडित बनेको बताउनुभयो ।

सेवाप्रदायक संस्थाका तर्फबाट पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकी करुणा ढकालले संक्रमितलाई नजिकबाट निगरानी गर्नुपर्नेमा बन्दीगृहका एचआईभी संक्रमितहरुका लागि समस्या रहेको बताउनुभयो । कारागारमा रहेका संक्रमितका लागि राज्यको तर्फबाट केही व्यवस्था हुनुपर्छ भन्नुहुदै उपचार पाउने संक्रमितका अधिकार बञ्चित नगर्न आग्रह गर्नुभएको थियो ।