दशै महोत्सवमा दर्शक बढ्दै


पोखरा,  असोज
ट्रेनर नेपालले पोखरामा आयोजना गरेको दशै महोत्सवमा दर्शकको सहभागिता बढ्दै गइरहेको छ। महोत्सवको पाँचौ दिन मङ्गलबार अन्य दिनको तुलनामा दर्शकको सहभागिता बढेको ट्रेनर नेपालका अध्यक्ष एवं कार्यक्रम संयोजक रविन गुरुङले बताए।

पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा असोज ३ देखि शुरु भएको महोत्सव ११ गतेसम्म चल्नेछ।महोत्सवस्थलमा विक्रीका लागि राखिएका च्याङ्ग्रा , लिङ्गे पिङ र चौराले पिङले महोत्सवको रौनक बढाएको छ।महोत्सवमा विहान, दिउँसो र राति भिन्न÷भिन्न प्रकारका कार्यक्रम संचालन भएका छन्।

महोत्सवमा आयोजना गरिएको सुपर नोनी बृहत निःशुल्क योग शिविर भने मङ्गबार सकिएको छ। योग शिविरमा झण्डै दुई हजार पाँच सय जनाले सहभागिता जनाएको बताइएको छ।मङ्गलबारदेखि सांस्कृतिक कार्यक्रम पनि थप गरिएको छ। कार्यक्रममा कालाकारहरु कृष्ण देवकोटा, तुलसा जि.सि, प्रदिप त्रिपाठी, श्रीराम अधिकारी र सुनिल गायकले विभिन्न प्रस्तुतीहरु राखेका थिए।

दशै मेला अन्तर्गत खरिद विक्री, नवदुर्गा विषेश पूजा, दशै पिड्ड सहित विविध कार्यक्रम र साँझ पाँचदेखि नौबजेसम्म मनोरञ्जनात्मक कार्यक्रमहरुको प्रस्तुती नेपाल आइस दशै नाईट भैरहेको छ। दशै नाइटमा १० जना भिडियो डिजेको प्रस्तुतीमा खुल्ला आकाशमुनि रमाउन पाईने छ।

पोखरामा पहिलो पटक भिडियो डिजेको प्रस्तुती राखिएको आयोजकको दावी छ। पोखरामा अन्तर्राष्ट्रिय योग ध्यान केन्द्र स्थापना तथा दशैमा निम्न वर्गका नागरिकलाई सहुलियत दरमा उपभोग्य सामाग्री उपलब्ध गराउने उदेश्यले महोत्सव आयोजना गरिएको हो। महोत्सवस्थलमा दशैका लागि आवश्यक नयाँ नोट र उपभोग्य सामाग्री चिनि, नुन, चामल सस्तो दरमा उपलव्ध गराइएको छ।