कास्कीमा,दसैं मनाउन अन्तै जानेहरुको घरमा सुरक्षाको जिम्मा प्रहरीले लिने


पोखरा ७ असोज/दशैमा कास्कीमा घर छाड्नेहरुलाई खुसिको खबर छ । दसैंका बेलामा आफ्नो घर छाडेर, कतै जानुहुन्छ भने अब सुरक्षाको जिम्मा प्रहरीले लिने भएको छ । पोखरामा भएको घर बन्द गरेर दसैं मनाउन अन्तै जाने व्यक्तिहरुका घरमा हरेक दिन नजिकैको प्रहरी चौकीबाट प्रहरी गएर निगरानी गर्ने योजना कास्की प्रहरीले सार्वजनीक गरेको छ ।

दसैं सुरक्षा योजना कार्यक्रममा प्रहरी प्रवक्ता, प्रहरी नायब उपरिक्षक केदार रजौरेले भने–‘पोखराको घर बन्द गरेर दसैं मनाउन जानेले प्रहरीमा जानकारी दिनुहोस । त्यो घरमा प्रहरीले निगरानी गर्नेछ । प्रहरी तपाइको घरमा पुगेर फोन गरेर जानकारी समेत दिनेछ ।’

प्रवक्ता रजौरेले त्यसका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा फोन गरेर आफ्नो घरको ठेगना उपलब्ध गराउनुपर्ने वताए । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बसन्त लामाले कास्कीका ४३ वटा गाबिस र दुबै नगरपालिका समेटेर सुरक्षा योजना बनाइएको जानकारी दिए । प्रहरी प्रमुख लामाका अनुसार सुरक्षा योजना अनुसार कास्कीमा सबै प्रहरी कर्मचारीका लागि बिदा अब बन्द भएको छ ।

प्रहरी प्रमुख लामा आफैले कास्कीको सुरक्षा व्यबस्थाको कमाण्ड गर्नेछन् । ‘ड्युटीमा खटिएको टोलीले राम्रोसँग ड्युटी गरे वा नगरेको भन्ने बारेमा बुझ्न फेरी अर्को सिनियर अधिकृतको ड्युटी खटाइने छ ।’ एसपी लामाले भने –‘संभावित सुरक्षा जोखिम हुने ठाउँहरुको पहिचान गरेर आवश्यक सुरक्षा व्यवस्था मिलाएका छौ ।’

कास्की प्रहरीले बिगतमा चोरीका गतिबिधीमा लाग्नेहरुको समेत निगरानी बढाएको छ । पहिला चोरीमा संलग्नहरु यही बेलामा चोरीमा सक्रिय हुन सक्ने भएकाले प्रहरीले पुराना चोरहरुको फाइलनै बनाएर निगरानी सुरु गर्ने भएको हो । साथै बिगतमा ठुला अपराध गरेर भाग्नेहरु दसैंमा घरमा वा आफन्त भेट्न आउन सक्ने कुरालाइ समेत ध्यानमा राखेर कास्की प्रहरीले त्यही अनुसारको योजना बनाएको छ ।

प्रहरीले घर बाहिर जाँदा बाहिरबाट देखिने चाबी नलगाउन पनि आग्रह गरेको छ । घरमा पालेको कुकुरलाइ बिष सेवन गराएर लट्ठ पारी चोरी गर्ने गिरोह समेत रहेकाले कुकुरको मात्र भर नपर्न पनि प्रहरीले कास्कीबासीमा अनुरोध गरेको छ । नक्कली सुन, डलर वा बेहोस हुने पेय पदार्थ सेवन गराएर लुटपाटमा संलग्न हुनेहरुबाट सचेत हुन प्रहरीको अनुरोध छ । आजको हटलाइन दैनिकमा खबर छ । बिशेषगरी सुन चाँदी व्यवसायी, बैंक, धार्मिक क्षेत्र र किनमेलका लागि भिड हुने स्थानमा बिशेष सर्तकता अपनाइने कास्की प्रहरीले जनाएको छ ।